प्रतिनिधिसभाः उपसभामुखको पत्रबारे छानबिन गर्न माग 

काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्नुहुने सांसदहरुले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रका विषयमा छानबिन गर्न माग गर्नुभएको छ ।

केही युवालाई अमेरिका पठाउन उपसभामुख रानाले संसद्को लेटरप्याडमा अमेरिकी दूतावासलाई पत्र पठाएको र यसबारे संसद्लाई जानकारी नभएका विषयमा छानबिन गरिनुपर्ने माग सत्तापक्षले उठाएको छ । प्रतिपक्षमा रहेका दलहरूले भने उपसभामुख इन्दिरा रानासँग जोडेर आएको विषय संवैधानिक परिषद्मा सत्तापक्षले खोजेको सहजतासँग जोडेर आएको र सत्तापक्षले मिडिया ट्रायल गरेको आरोप लगाएको छ ।
साथै पर्याप्त छानविन र वास्तविकता पहिचान नगरिकनै मानव तस्करीजस्तो जघन्य अपराधमा उपसभामुख रानाको नाम मुछिएकोप्रति प्रतिपक्ष दलका सांसदहरुले आपत्ति जनाएका हुन् ।

आजको बैठकमा आकस्मिक समयमा बोल्नुहुँदै सांसद रामहरी खतिवडाले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले आफ्नो पदको दुरुपयोग गरेर केही युवालाई अमेरिका पठाउन खोजेको आरोप लगाउनुभयो । यस्तो गम्भीर आरोपबारे छानबिन समिति गठन हुनुपर्ने तथा उपसभामुखले नैतिकताका आधारमा संसद बाहिर रहेर अनुसन्धानलाई सघाउनुपर्ने उहाँको भनाइ छ । 

“संसद् सचिवालयलाई थाहै नदिइ उपसभामुखको लेटरप्याडमा कसले कुन प्रयोजनका लागि सिफारिस गरेको हो भनेर छानबिन गरिनुपर्छ । यसका लागि उपसभामुख संसद्‌भन्दा बाहिर बसेर छानबिनका लागि सघाउनुपर्छ”, खतिवडाले भन्नुभयो, “यस्तो अवस्थामा उपसभामुखले संसदको कमाण्ड सम्हाल्न सुहाउँछ कि सुहाउँदैन रु यो गम्भीर प्रश्न हो ।”

सांसद रघुजी पन्तले राष्ट्रिय परिचयपत्रको आवश्यकता र औचित्यमाथि प्रश्न गर्नुभयो । विभिन्न सामाजिक सुरक्षाभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि त्यसले अप्ठ्यारो भएको उहाँको भनाइ छ । राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा ज्येष्ठ नागरिकलाई बढी समस्या परेको उल्लेख गर्नुहुँदै सांसद पन्तले यसमा सहजीकरण गर्न संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद माधव सापकोटाले डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत् महशुल भुक्तानीसम्बन्धी विवादमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको विषय उठाउनुभयो । डेडिकेटेड र ट्रङ्कलाइन सम्बन्धी विवादलाई विद्यमान कानुनी व्यवस्था र विभिन्न समयमा गठित अध्ययन समितिले दिएका सुझावका आधारमा समाधान गरिनुपर्ने बताउनुभयो । यो महशुल असुलीका लागि चलखेल नगरिकन स्वतन्त्र रुपमा सरकारका निकाय अघि बढ्नुपर्ने उहाँको भनाइ छ । नवगठित सरकारले आर्थिक अनुशासन पालनामा जोड दिनुपर्ने सांसद सापकोटाले बताउनुभयो ।

उपसभामुख राना विवादमा मुछिएको विषय राजनीतिक नैतिक चरित्रसँग जोडिएको भए पनि संवैधानिक परिषद्मा अप्ठ्यारो पर्ने भएपछि सत्तापक्षले यो विषय उचालेको आरोप सांसद सापकोटाले लगाउनुभयो ।

अर्का सांसद सुमना श्रेष्ठले उपसभामुख रानाको विषयमा मिडिया ट्रायल भएको बताउनुभयो । संवैधानिक परिषद्मा सत्तापक्ष अल्पमतमा परेपछि उपसमामुख रानालाई मानव तस्करीजस्तो गम्भीर आरोप सत्तापक्षले लगाएको र रानाको चरित्र हत्या गर्ने नियतले सत्तापक्षले यो विषय उठाइरहेको उहाँको भनाइ छ । सबैका लागि विधि र पद्दति लागू हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सांसद दामोदार पौडेल वैरागीले उपसभामुख रानाले अमेरिकी दूतावासलाई पठाएको पत्र र उपसभामुखको विज्ञप्तिबाट मानव तस्करीको उद्देश्य देखिएको धारणा राख्नुभयो । उपसभामुख सहभागी कार्यक्रममा सरोकार नै नभएका व्यक्तिहरुलाई अमेरिका पठाउन भिसा सहजीकरण गर्न पत्र पठाएको देखिएकाले यस विषयमा थप छानविन गरिनुपर्ने उहाँको भनाइ छ ।

सांसद चन्द्रबहादुर विश्वकर्माले देशका विभिन्न स्थानमा बाढी, पहिरो, डुबान, चट्याङजस्ता प्राकृतिक विपद् जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन, राहत तथा उद्धारका लागि संसद्मार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो । भूकम्पका कारण समस्यामा परेका जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका जनता अहिले बाढी र पहिरोका कारण थप समस्यामा परेको उहाँको भनाइ छ । उहाँले बाढीपहिरोका कारण समस्यामा परेकाहरुको उद्धार तथा सुरक्षित स्थानमा सारेर तत्काल राहत उपलब्ध गराउन संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गणेश पराजुलीले यो वर्षमात्रै वर्षायाम पछि विभिन्न प्राकृतिक विपद्मा परी एक सय २८ भन्दाबढीको ज्यान गइसकेको र सयौँ घाइते भएको विषय संसद्मा उठाउनुभयो । उहाँले विपद्मा परेका व्यक्तिहरुको उपचार, राहत तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज