ठूला नेतालाई ज्ञापनपत्र बुझाउँदा पनि नभएपछि अड्डा अदालत धाउँदै सहकारी पीडित

काठमाडौं l सञ्चालकले बचतकर्ताको रकम अपचलन गर्दा गण्डकी प्रदेशमा सवा ५ अर्ब रुपैयाँ जोखिममा परेको छ । गण्डकीका ९ सहकारीमा बचतकर्ताको ५ अर्ब २६ करोड रुपैयाँ जोखिममा परेको हो । बचत फसेपछि पोखरा–४ नालामुखस्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित अड्डा अदालत धाउन थालेका छन् ।

उक्त सहकारीमा मात्र १८ हजार ७ सय बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना भएको छ । बचतकर्ताले गत बिहीबार पोखरामा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नै भेटेर ज्ञापनपत्र बुझाए । सहकारी अपचलनमा संलग्नलाई कानुनको दायरामा ल्याएर रकम फिर्ता गर्ने वातावरण बनाइदिन उनीहरूले गृहमन्त्रीसँग माग गरे । यसअघि मंगलबार पोखरा आएका कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष पनि ज्ञापनपत्र बुझाएका थिए ।

गत साउनमा सूर्यदर्शनका एक हजार ३५ बचतकर्ताले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार रुपैयाँ बिगो दाबी गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । पोखरा महानगरको विज्ञ टोलीको राय प्रतिवेदनमा सहकारी संस्थाबाट ठगी भएको पीडितको संख्या १८ हजार ७ सय र रकम १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ उल्लेख छ । सहकारीको सञ्चालक समितिका पूर्व र वर्तमान पदाधिकारी, लेखा समिति संयोजक, सदस्य, लेखा अधिकृत र ऋण अधिकृतसहित १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भवीश्वर अर्याल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ मात्रै पक्राउ परेका छन् ।

उक्त सहकारी ठगीका मुख्य नाइके संस्थापक अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) हालसम्म फरार छन् । उनी ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्षसमेत हुन् । महानगरको प्रतिवेदनमा राईसहित सञ्चालक समितिको योजनामा विभिन्न फर्ममा अवैध लगानी गरेको, नक्कली कम्पनी खडा गरी लगानी गरेको, कमसल धितो र बिनाधितो आफ्नै नाममा ऋण लगानी गरेको उल्लेख छ । उनी अध्यक्ष रहेको ग्यालेक्सी फोरके टेलिभिजनदेखि नेचर हर्ब र नेचर नेस्ट नामक नेटवर्किङ कम्पनीमा समेत सहकारीको रकम अवैध रूपमा लगानी गरेको प्रतिवेदनमा खुलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज