सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि केही मान्छेले हिलो छ्याप्ने काम गरे पनि त्यसबाट डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
दुधौली नगरपालिका–५ सिर्थौलीमा शनिबार दुधौली नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले लोकतन्त्र र गणतन्त्रका विरोधीले भ्रम छर्ने काम गरेकाले सजग हुन आह्वान गरे । लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत र व्यापक लोकतान्त्रिक गणतन्त्र भएको उनको भनाइ थियो ।
सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा सरकारले दर्बिलो ढंगले काम गरेकाले जनताको उन्नति र समृद्धि नचाहनेहरुले व्यवस्थाबिरुद्ध फैलाएको भ्रम र अफवाहको पछि नलाग्न उनले सुझाए । व्यवस्थाविरुद्ध भ्रम र अफवाह कसले फैलाएको भन्नेबारे प्रधानमन्त्रीले केही खुलाएनन् ।
अर्थतन्त्र सुदृढ हुँदै गएको दाबी गर्दै प्रधानमन्त्रीले विदेशी मुद्रा संचिति, पर्यटक अवागमन वृद्धि र बढ्दो रेमिट्यान्स यसको साक्षी भएको बताए । रेमिट्यान्स ३० प्रतिशत बढेकोमा भने आफू खुसी नभएको प्रधानमन्त्रीले सुनाए । उनले आफू सरकारमा आएपछि राहदानी, लाइसेन्स बनाउने लाइन हटाएको, मल बीऊको सहज उपलब्धताले धान उत्पादन बढेको दाबी गरे ।