उक्त प्रस्तावमाथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नको समितिका सभापति आलेमगरले जवाफसमेत दिए । उक्त प्रतिवेदनमाथि संशोधन राख्न चाहने सांसदले ७२ घण्टाभित्र आफ्नो संशोधन दर्ता गर्नसक्ने ब्यहोरा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई जानकारीसमेत गराएका थिए ।
बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० लाई समेत सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभासमक्ष पेश गरे ।
बैठकले पूर्वमन्त्री तथा संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।