बुटवल । बचतकर्ताको एक अर्ब भन्दा बढी रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डे चापागाईंलाई बुटवल प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवैले गितेन्द्रबाबु राई नेतृत्वको सहकारी सुप्रिम मार्फत १० हजार ३ सय ९१ जना बचतकर्ताहरूको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७ सय २९ रुपैंयाँ रकम हिनामिना गरेको आरोप छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले लुम्बिनी प्रदेशको सहकारी रजिस्टर कार्यालयको प्रतिवेदन र बचतकर्ताहरूको उजुरीपछि अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेयलाई शुक्रबार पक्राउ गरी अनुसन्धान सुरु गरीएको बताए ।
‘अध्यक्ष गुरुङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरेर अनुसन्धान सुरु गरेका छौं,’ उनले भने, ‘संकलन रकमको विवरण, ऋण लगानीको अवस्था र रकम अप्रचलनको अवस्थाको अध्ययन हुँदैछ ।’ दुवै जनालाई शुक्रबार नै अदालतबाट म्याद थप गराएर अनुसन्धान भइरहेको पनि उपरीक्षक पण्डितले बताए । संस्थाका पूर्व अध्यक्ष एवं अहिलेका संरक्षक जिबी राई भने फरार छन् ।
सहकारीले राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न ५ कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६ सय ६५ रुपैयाँ रकम उपलब्ध गराएको देखिएको छ । उक्त रकम कागजी प्रक्रिया पूरा नगरी ऋणको रुपमा उपलब्ध गराएको बचतकर्ताको आशंका छ ।