काठमाडौं । नयाँ सत्ता गठबन्धन बनेसँगै पुनर्गठित मन्त्रिपरिषद्का तीन जना बिनाविभागीय मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन् ।
सत्ता गठबन्धनका दलबीच मन्त्रालय भागबन्डा बाँकी रहेकाले उनीहरूले मन्त्रालयको जिम्मेवारी भने पाएका छैनन् । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा २२ वटै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालले नै लिएका छन् । मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन नयाँ गठबन्धनका दलहरूबीच चार सदस्यीय कार्यदल बनेको छ । एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव कार्यदलमा छन् ।
बिनाविभागीय मन्त्रीको शपथ लिने तीनै जना प्रतिनिधिसभाका सांसद हुन् भने यसअघि मन्त्री भइसकेका हुन् । एमालेका प्रमुख सचेतकसमेत रहेका ४७ वर्षीय गिरी पर्वत १ बाट प्रत्यक्ष निर्वाचित हुन् ।
माओवादीका केन्द्रीय सदस्य रहेका नवनियुक्त मन्त्री तामाङ २०६६ मा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री थिए । ६० वर्षीय उनी नुवाकोट पञ्चकन्याका हुन् । नुवाकोट १ बाट प्रत्यक्ष निर्वाचित उनले एसएलसी गरेका छन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीबाट बिदा भएको १३ महिनामा रास्वपा उपसभापति डोलप्रसाद अर्याल पुनः बिनाविभागीय मन्त्री नियुक्त भएका छन् । धादिङका अर्याल समानुपातिक कोटाबाट २०७९ मा प्रतिनिधिसभा सदस्य चुनिएका थिए । उनी पार्टी स्थापनाकालदेखि नै सभापति रवि लामिछानेको सहपाठी भएर सक्रिय छन् ।