रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्काउन रुसी विदेशमन्त्री लाभारोभलाई परराष्ट्रमन्त्री श्रेष्ठको आग्रह

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपाली नागरिकका समस्या, ज्यान गुमाएकाको शव स्वदेश ल्याउन, मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्काउन सहजीकरण गर्न आफ्ना रुसी समकक्षीसँग आग्रह गरेका छन् ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार मस्कोमा रहेका रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभसँगको टेलिफोन संवादमा रुसी सेनामा गैरकानुनी रूपमा नेपालीहरूलाई भर्ती गरिएको सम्बन्धमा कुराकानी भएको थियो ।

यो नेपाल सरकार र रुस सरकारबीच भएको दोस्रो उच्च तहको छलफल थियो। यसअघि युगान्डाको राजधानी कम्पालामा माघ पहिलो साता भएको असंलग्न आन्दोलन अभियानको १९ औं शिखर सम्मेलनका क्रममा तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले रुसी उपविदेशमन्त्री वर्सिनिन सर्गेई वसिलिइविचसँगको भेटमा नेपालका तर्फबाट असन्तुष्टि जनाएका थिए।

रुसी सेनामा भर्ती गराई युक्रेनसँग लड्न पठाइएका मध्ये हालसम्म कम्तीमा १३ नेपालीको मृत्यु भइसकेको छ भने ५ जना युक्रेनी सेनाको कब्जामा छन्। साथै, २ सय ७० नेपालीलाई उद्धार गर्न माग गर्दै आफन्तजनले परराष्ट्र मन्त्रालयमा निवेदनसमेत दिएका छन्।

उपप्रधानमन्त्री श्रेष्ठले लाभ्रोभसँगको कुराकानीमा मुख्य गरी ६ वटा विषयलाई उठाएका थिए।

श्रेष्ठले रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा मृत्यु भएका नेपालीको शव नेपाल पठाइदिन, युद्धमा मृत्यु हुने नेपालीहरूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन, युद्धमा घाइते भएका र रुसी सेनामा भर्ना सबैलाई फिर्ता पठाइदिन, नेपालीहरूलाई रुसी सेनामा भर्ती नगराउन, रुसी सेनामा भर्ती भएका नेपालीहरूको संख्या नेपाल सरकारलाई जानकारी दिन तथा रुसी सेनामा भर्ती भएर युक्रेनी सेनाको कब्जामा रहेको जानकारी दिन आग्रह गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज