काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कमसल धितोमा कर्जा प्रवाह गरेको आरोपमा पक्राउ गरेका बैकका कर्मचारीलाई बोलाएको समयमा प्रहरी कार्यालयमा उपस्थित हुने सर्त (हाजिरी जमानी) मा विहीबार थुनामुक्त गरेको छ । उनीहरूलाई नेपाल बैकर्स संघ र बैङ्करका परिवारको रोहबरमा थुनामुक्त गरिएको हो ।
ललितपुर सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारीका सञ्चालक रवीन्द्र चौलागाईंका विभिन्न कम्पनीमा तत्कालीन सेन्चुरी बैंकबाट कमसल धितोमा बढि ऋण प्रवाह भएको पाइएपछि १७ दिनअगाडि सीआईबीले हाल प्रभु बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र सेन्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमण श्रेष्ठ, दीपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरि अनुसन्धान थालेको थियो ।
यस घटनामा सीआईबीले पहिलो चरणको प्रारम्भिक अनुसन्धान सकेको छ । अहिले राष्ट्र बैंकको विज्ञ समूहसहितको टोलीले थप अनुसन्धान गरिरहेकाले हिरासतबाहिर रहेर पनि प्रहरीको अनुसन्धानलाई सहयोग गर्ने सर्तमा बैङ्कर्स सङ्घले रोहबरमा उनीहरूलाई हाजिरी जमानीमा थुनामुक्त गरेको जनाएको छ । संघले पक्राउ परेका बैङ्कर्सहरूलाई बाहिरै राखेर अनुसन्धान गर्न आग्रह गर्दै आएको थियो ।