काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका तत्कालीन सल्लाहकार ‘वैदेशिक मामिला विज्ञ’ जीवनकुमार गुरुङविरुद्ध सुन तस्करी गरेको आरोपमा शुक्रबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय ३८ किलो सुन तस्करी गरेको आरोपमा उनी विरुद्ध मुद्दा दायर भएको हो। उनीमाथि १ अर्ब ४० करोड ५५ लाख ३० हजार बिगो बमोजिम जरिवाना र ५ वर्ष कैद सजायको मागदाबीसहित मुद्दा दायर गरिएको छ ।
२०७९ मंसिर २१ गते १४ किलो सुन सहित गोरखाका चन्द्र घले प्रक्राउ परेपछि सुन ल्याउने मुख्य योजनाकार गुरुङ गरेको खुलासा भएको थियो । सुन तस्करीमा उनको संलग्नता रहेको आरोप लागेपछि गत फागुन १४ गते केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले उनलाई प्रक्राउ गरेको थियो । अनुसन्धानका क्रममा गुरुङले भरिया मार्फत विमानस्थल हुँदै तस्करी भएर आउने सुन लिएर व्यवस्थापनको काम गर्ने गरेका पाइएको छ ।
उक्त सुन तस्करी प्रकरणमा मिन घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर बस्नेत, राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, अनिल श्रेष्ठ र रमेश देउला सहित ७ जना विरुद्ध मुद्दा दायर भई पुपर्क्षका लागि थुनामा छन् भने दनबहादुर गुरुङ र बिना गुरुङ फरार छन् ।
अनुसन्धानका क्रममा घले समुहले सन् २०१४ देखि नै सुन तस्करी गर्ने गरेको र पछिल्लो एक वर्षमा मात्रै करिब १ सय ३८ किलो सुन तस्करी गरेर नेपाल भित्र्याएको पाइएको छ ।