काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुनलाई जिल्ला अदालत रुपन्देहीले ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
काठमाडौंबाट शुक्रबार पक्राउ परेका पुनलाई सहकारी ठगिको अनुसन्धानका लागि प्रहरीले रुपन्देही लगेको थियो । जिबि राई अध्यक्ष र उनी उपाध्यक्ष रहेको समयमा बुटवलको सुप्रिम सहकारीको बचत आफूखुसी विभिन्न कम्पनीमा लगानी गरि ठगी गरेको भन्दै उनी विरुद्ध जाहेरी परेको थियो । अनुसन्धानका क्रममा सुप्रिम सहकारीले स्थानीय बचतकर्ताको झण्डै ७८ करोडभन्दा बढी रकम अपचलन गरेको पाइएको छ ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा पुन सुन तस्करी प्रकरणमा समेत आरोपित व्यक्ति हुन । गत २ साउन महिनामा बरामद भएको ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको व्यसायिक सम्बन्ध रहेको पाइएको थियो । सुन जाँचबुझ आयोगको प्रतिवेदनमा समेत पुनमाथि थप अनुसन्धान हुनुपर्ने उल्लेख गरिएको छ ।