शेयरको “इनसाइड ट्रेडिङ” मा गुरु न्यौपाने दोषी ठहर, चैत १५ गते सजाय तोकिने

काठमाडौं । शेयरको भित्री कारोबार ( इनसाइड ट्रेडिङ ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपाने सम्पत्ति शुद्धिकरणको अभियोगमा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपानेलाई शेयरको भित्री कारोबारमा दोषी ठहर गरेको हो । 

उक्त मुद्दामा दोषी ठहर भएका न्यौपानेले त्यसबाट आर्जन गरेको रकम समेत अवैध हुने ठहर गर्दै अदालतले उनीमाथि हुने सजाय निर्धारण गरी बिगो र जरिवाना तोक्नका लागि चैत १५ गते पेश गर्न आदेश दिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कम्पनीको भित्री सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानुनी लाभ लिएको आरोपमा एक करोड ९९ लाख रुपैयाँ बिगो माग दावी गर्दै गत २३ कात्तिकमा न्यौपाने विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यस्तो थियो न्यौपानेको शेयर कारोबार 

गुरुप्रसाद न्यौपाने २०५६ सालदेखि नै रिडी पावरका संस्थापक, प्रवर्द्धक र प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका थिए । २०७७ चैत १९ देखि २०७८ साउन २४ गतेसम्म न्यौपाने उक्त संस्थाको अध्यक्ष पदमा थिए । न्यौपाने अध्यक्ष रहेको समयमा २०७८ जेठ ४ गते मा रिडी पावरले आफूसँग भएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ लाख कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयभन्दा डेढ महिना अघिदेखि नै तत्कालीन अध्यक्ष न्यौपानेले रिडीको शेयर किनेका थिए । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानमा त्यतिबेला उनले रिडीको करिब ३० हजार कित्ता शेयर २०३ देखि २१२ रुपैयाँको दरले शेयर किनेको देखिन्छ। पछि उनले आफूसँगै भएको समेत गरी रिडीको करिब ४० हजार कित्ता शेयर प्रतिशेयर ५९१ देखि ७३१ रुपैयाँका दरले बेचेका थिए ।

उनले रैराङको शेयर बिक्रीको निर्णय हुनुभन्दा डेढ महिना अघिदेखि नै धमाधम रिडीको शेयर किनेको अनुसन्धानका क्रममा पाइएको थियो । न्यौपानेले शेयर बिक्रीको  निर्णयपछिको एकदेखि तीन महिनाभित्र तिनै शेयर फेरि बेचेका थिए । 

धितोपत्र बोर्डले भित्री कारोबारबिना खरिद बिक्रीको कामलाई संयोगमात्रै भन्न नसकिने निष्कर्ष दिएपछि न्यौपाने माथि विभागले इनसाइड ट्रेडिङमा मुद्दा चलाउने निर्णय गरेको थियो । 

धितोपत्र बोर्डका अनुसार न्यौपानेले २०७७ चैत १७ देखि  २०७८ साउन २४ सम्म रिडी हाइड्रोपावरको शेयर १४ पटक खरिद र १२ पटक बिक्री गरेका थिए । आफूमात्रै नभई उनले श्रीमती सुमित्रादेवी न्यौपाने, छोराहरू सञ्जीव न्यौपाने, सतिश न्यौपाने, बुहारीहरू सलिना नेपाल र सिर्जना खड्काको नाममा रहेको शेयर पनि खरिदबिक्री गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज