शेयर बजारमा  “इनसाइड ट्रेडिङ” के हो ? के छ कानुनी कारबाहीको व्यवस्था ? 

शेयर बजारमा इनसाइड ट्रेडिङ एउटा गैरकानूनी अभ्यास हो । कम्पनीको बारेमा सार्वजनिक नभएका कतिपय जानकारीको आधारमा शेयर खरिद वा बिक्रीको काम गरिन्छ भने त्यसलाई शेयर बजारमा इन्साइड ट्रेडिङ भनिन्छ। यस्ता जानकारीको प्रयोग गरेर, पहुँचवाला व्यक्ति वा समूहले शेयर मूल्यमा अप्रत्याशित वृद्धि वा गिरावटको कारण फाइदा लिने गर्छन् । 

उदाहरणका लागि : कुनै एउटा कम्पनीको कार्यकारीले कुनै कम्पनीले चाँडै फाइदाजनक सम्झौता गर्न गइरहेको जानकारी पाउँछ । त्यो सम्झौतापछि कम्पनीको शेयर बजार बढ्ने प्रशस्तै आधारहरू उसले पाउँछ । त्यही जानकारीका आधारमा कार्यकारीले सम्झौता हुनु अगाडि नै त्यो कम्पनीको शेयर खरिद गर्छ । सम्झौता भएपछि उक्त कम्पनीको शेयरको मूल्य बढ्छ र कार्यकारीले राम्रो नाफा कमाउँछ । यसरी कुनै पनि कम्पनीको भित्री सूचना पहिल्यै थाहा पाएर त्यसबाट शेयर खरिद गरि लिइने नाफालाई शेयर बजारमा इनसाइड ट्रेडिङ अर्थात भित्री कारोबार भनिन्छ । 

नेपालमा धितोपत्र सम्बन्धी ऐन २०६३ को परिच्छेद ९ मा ‘धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबार सम्बन्धी कसुर तथा दण्ड सजायको व्यवस्था’ गरिएको छ ।

जसमा कुनै व्यक्तिले सार्वजनिक नभएका धितोपत्रको मूल्यमा असर पार्न सक्ने भित्री सूचना वा जानकारीको आधारमा आफूले धितोपत्र कारोबार गरेमा वा अरुलाई धितोपत्र कारोबार गर्न लगाएमा वा आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरु कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने उल्लेख गरिएको छ ।  ‘भित्री सूचना वा जानकारी’ भन्नाले कुनै धितोपत्र जारी गर्ने सङ्गठित संस्थाबाट सार्वजनिक नभएको कुनै खास किसिमको सूचना वा जानकारी सार्वजनिक भएमा त्यस्तो धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनु पर्ने उल्लेख छ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को परिच्छेद ९ मा भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्तिको पहिचान गरेको छ । जसमा सङ्गठित संस्थाको सञ्चालक, कर्मचारी वा सेयरवाला हैसियतले कुनै सूचना वा जानकारी प्राप्त गर्ने व्यक्ति, संस्थालाई पेशागत सेवा प्रदान गर्ने नाताले कुनै सूचना वा जानकारी प्राप्त गर्न सक्ने व्यक्तिलाई जनाएको छ । ऐनले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धितोपत्र खरिद वा बिक्री भएको भए तापनि वास्तविक स्वामित्वमा फरक परेमा त्यसलाई झूटो कारोबार ठान्ने परिकल्पना गरेको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९१ मा कुनै व्यक्तिले धितोपत्रको मूल्यमा असर पार्नसक्ने भित्री सूचना वा जानकारीका आधारमा कारोबार गरेमा वा सूचना चुहाएमा भित्री कारोबार गरेको मानिने भन्ने व्यवस्था छ । त्यसको पुष्टि भएमा बिगो बमोजिम जरिवाना, एक वर्ष कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । भित्री सूचना सार्वजनिक गरी झुठो कारोबार गरेमा, मूल्यमा उतार चढाव भएमा, धितोपत्र बजारलाई प्रभावित पारेमा ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने र एक वर्ष कैद वा दुवै कारबाही हुने व्यवस्था ऐनमा छ ।

कुनै पनि कम्पनी वा संस्थाले झुक्याउने विवरण दिए, जालसाजीयुक्त कारोबार गरेमा, जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गरेमा, लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा १ देखि ३ लाख जरिवाना, दुई वर्ष जेल वा दुवै सजाय हुने ऐनमा व्यवस्था छ । ऐनमा भएको कुरा बर्खिलाप गरे ५० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

ऐन अनुसार कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको कुनै पनि व्यक्तिले ऐनमा भएको कुनै सजाय पाएमा त्यस्तो सजाए पाएको मितिले १० वर्ष अवधि पुरा नभएसम्म त्यो व्यक्ति कुनै पनि पब्लिक लिमिटेड कम्पनी वा संस्थाको सञ्चलक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य नहरने व्यवस्था समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज