काठमाडौं । नेपालमा गैरआवासिय नेपाली (एनआरएन)को लगानी भित्र्याउन सरकारले आवश्यक सबै नीति संशोधन गर्न तयार भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताएका छन । उनले नेपालमा लगानीको वातावरण बनाउन र एनआरएनएसहितका लगानीकर्तालाई आकर्षित गर्न सरकारले आवश्यक कानूनी सहजता प्रदान गर्ने बताएका छन ।
मन्त्री भण्डारीले सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा लगानीका लागि उचित वातावरण बनिसकेकोले ढुक्क भएर आउन पनि आहृवान गरे । उनले लगानी भित्र्याउन सरकारले आवश्यक सबै नीति संशोधन गर्ने प्रतिबद्धता एनआरएनसँगको उक्त भेटमा गरेका छन ।
मन्त्री भण्डारीले भने ‘नेपालमा सुरक्षित लगानीको वातावरण छ, तपाईहरुले आफ्नो लगानी ल्याउन सक्नुपर्यो ।’ उनलेले नेपालमा लगानी गरेर मुनाफा लिन सक्ने वातावरण बनीसकेको दाबी गर्दै बढी भन्दा बढी लगानी भित्र्याउन गैरआवासीय नेपाली संघले पहलकदमी लिनपर्नेमा जोड दिए । सरकारले आयोजना गर्न लागेको लगानी शिखर सम्मेलन २०२४ मा पनि एनआरएनको भूमिका अहम र महत्वपूर्ण भूमिका निर्वाह गर्न पनि मन्त्री भण्डारीको आग्रह छ ।
मन्त्री भण्डारीसँगको उक्त भेटमा एनआरएनका अध्यक्ष डा. केसीले मन्त्री भण्डारीलाई संघको तर्फबाट ज्ञापन पत्र दिँदै नेपालमा रोजगारी सिर्जना, उद्यमशिलता तथा पूर्वाधार विकाससँगै समृद्ध नेपाल निर्माणका लागि गैरआवासीय नेपालीहरुको लगानी तथा ज्ञान, सीप र प्रविधि प्रोत्साहन गर्न आवश्यक कानूनी तथा नीतिगत बाधा अड्चन संशोधन गर्न मन्त्री भण्डारीसँग अनुरोध गरेका हुन ।
अध्यक्ष डा केसीले गुणस्तरितालाई ध्यान दिने हो भने विश्वका कुनैपनि देशमा नेपाली मौलिक सामाग्रीको प्रवर्द्धन गर्न सकिने र नेपालको मौलिक उत्पादनलाई विदेशी बजारमा लैजान कुनै समस्या नभएको बताए । उनले प्रतिस्पर्धी बजारको माग अनुसार गुणस्तर सुनिश्चितता र प्याकेजिङका साथ निर्यातका लागि उत्पादनहरूको एकीकृत सङ्कलन केन्द्रको व्यवस्था गर्न र सोही केन्द्रबाट नेपालमै फ्युमिगेशन गर्ने र प्रमाणीकरण प्रक्रियालाई सहज बनाउने नीतिलाई अघि बढाउनुपर्ने विषयलाई जोड दिए ।
छलफलमा एनआरएन नेपाल डेभलपमेण्ट फण्ड लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले फण्डलाई पूर्वाधार विकासमा परिचालन गर्न नेपाल सरकारको समन्वयमा लगानी क्षेत्र पहिचान गरि लगानीको दायरा फराकिलो बनाउन आग्रह गरे ।
उनले लगानी भित्र्याउँदा लेखाङ्कन गर्न, लगानी अनुमति प्रकृया लगायतमा सहजीकरण गर्न र एनआरएन डेभलपमेण्ट फण्डले विकास गरिरहेको सफ्टवेयरलाई सरकारले ग्रहण गरी सोहीमार्फत काम गर्न सकिने बताए ।
संघले मन्त्री भण्डारीलाई बुझाएको पत्रमा गैरआवासीय नेपाली ऐनमा रहेको लगानी सम्बन्धी व्यवस्थालाई विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा समायोजन गर्नुपर्ने माग गरेको छ ।
संघले उक्त ऐनमार्फत लगानी सहजीकरण गर्न यसै आर्थिक वर्षबाट काम सुरु गर्न, धितोपत्र ऐन तथा नियमावलीमा संशोधन गरी गैरआवासीय नेपालीको लगानीलाई समेत नेपालको धितोपत्र विनिमय बजारमा प्रवेश गराउन र नेपाली सरह लगानी गर्ने वातावरण नीतिगत सुधार गर्न साथै, नेपाली धितोपत्र बोर्डले जारी गर्ने शेयर (आइपिओ) मा वैदेशिक रोजगारमा गएकाहरुको कोटालाई अझ फराकिलो बनाई स्वरोजगारमा रहेका तथा श्रम स्वीकृति नलिएका सम्पूर्ण एनआरएनलाई समेत समेट्न अनुरोध गरिएको छ ।