काठमाडौं । भारतले बिजुली बेच्ने अनुमति नवीकरण नगर्दा नेपालमा लोडसेडिङ हुने जोखिम बढेको छ । सुक्खायाममा नेपाललाई नपुगेको बिजुली भारतबाट आयात गरेर धान्ने गरिएको छ ।
यो वर्ष भने भारतले बिजुली आयात गर्न तथा नेपाललाई बिक्री गर्ने अनुमति नवीकरण नगरिदिँदा नेपालमा लोडसेडिङको हुने भएको छ। भारतको प्रतिस्पर्धी बजारबाट विद्युत् आयात गर्ने अनुमति नेपालले हरेक वर्ष नवीकरण गर्दै आएको छ ।
यो वर्ष नेपाल विद्युत् प्राधिकरणले तीन महिनादेखि ताकेता गर्दा पनि भारतले नवीकरण गरेको छैन । जसको असर अब सुख्खायाम बढेसँगै उत्पादित बिजुलीले नपुग्ने र भएका आयोजनाको पनि नदीमा पानीको सतह घट्दा कम उत्पादन हुने हुँदा नेपालमा लोडसेडिङ हुने भएको छ । यसको असर आगामी साताबाटै देखिने विद्युत प्राधिकरणको भनाइ छ ।
इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धा गर्दै नेपालले बिजुली खरिद गर्दै आएको छ । जसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ ।
यो बजारमा भाग लिन २०७८ वैशाखमा नेपालले अनुमति पाएको थियो । पाँच वर्षको यो अनुमति हरेक वर्ष नवीकरण गर्नुपर्ने शर्त छ । गत वर्ष नवीकरण गरिएको समय आगामी १८ चैतमा सकिँदै छ ।
बिजुली खरिद बिक्रीको म्याद सकिन जम्मा ६ दिन मात्र बाँकी रहँदा पनि नवीकरण नभएकाले लोडसेडिङको चिन्ता बढेको नेपाल विद्युत् प्राधिकरणको भनाइ छ ।