सर्वोच्चको न्यायाधीश नियुक्तिमा राजनीति छिरेको सांसद गौतमको आरोप 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा राजनीति छिरेको आरोप लगाएकी छिन् । प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा बोल्दै सांसद गौतमले यस्तो आरोप लगाएकी हुन । 

सर्वोच्च अदालतमा संविधानको व्यवस्थाअनुसार न्यायाधीश समयमै नियुक्त हुनु नसकेको र त्यसको एकमात्र कारण न्यायालयमा राजनीति छिर्नु रहेको बताउँदै सांसद गौतमले न्यायाधीश नियुक्तिमा राजनीति छिर्दा न्याय निरुपणमा समस्या भएको बताइन। उनले भनिन्, अदालतहरूमा समयमा नै न्यायाधीश नियुक्त नगर्दा पुर्पक्षका लागि थुनामा पठाइएकाहरू महिनौँदेखि मुद्दा सुनुवाइको पालो पर्खिइरहेका छन् । पूर्वपक्षका लागि थुनामा पठाइएकाहरूको संख्या पनि ठूलो छ । मुद्दामा पालो नआएर बीसौं महिनासम्म जेलमा बसेको पनि हामीले भेट्यौं । किन पालो आउँदैन त हामीले यहाँनेर अलिकति दृष्टिगोचर गर्नुपर्ने देखिन्छ । 

सांसद गौतमले अगाडि भनिन, न्यायाधीश नियुक्तिमा राजनीति छिरायौ, राजनीति छिरिसके पछाडि सर्वोच्च अदालतमा एक जना खाली हुनुभयो भने त्यहाँनेर नियुक्ति गर्नुपर्नेमा चार पाँचजना खाली गराउने पर्खाइमा छौं र भागबन्डा गर्ने पर्खाइमा छौं । 

सांसद गौतमले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका विषयमा संसद् पनि गम्भीर हुनुपर्ने स्थिति आइसकेको बताइन । उनले हाल सर्वोच्च अदालतमा दुई न्यायाधीश पद रिक्त रहेको बताउँदै न्यायाधीशको पद रिक्त हुनु एक महिना पहिल्यै नियुक्त सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्दा पालना नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

यसअघि सर्वोच्च अदालतका ७ न्यायाधीश रिक्त रहेको अवस्थामा न्याय परिषद्ले ६ पदमा मात्रै सिफारिस गरेर एक पद रिक्त राखेको थियो । त्यसपछि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा सेवा निवृत्त हुँदा हाल दुई न्यायाधीश पद रिक्त रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज