काठमाडौँ । इलाम २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि विभिन्न राजनीतिक दल र ८ स्वतन्त्र गरि २० जनाले मनोनयन दर्ता गराएका छन् ।
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार डम्बर खड्काले मनोनयन दर्ता गराएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का साझा उम्मेदवारका रुपमा सुहाङ नेम्बाङ रहेका छन् । उनी स्व। सुवास नेम्बाङका छोरा हुन । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का जीतबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका तर्फबाट डकेन्द्र सिंह थेगिमले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै राप्रपा नेपालका गणेशबहादुर चौकान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, नेशनल रिपब्लिक पार्टीका धनराज राना मगर, मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बू, नेपाली जनता दलका रेशमबहादुर सुनारले पनि मनोनयन दर्ता गराएका छन् ।
अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं, डाकप्रसाद गौतम, दिपेश बोहरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्यालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । इलाम(२ को उपनिर्वाचनमा सबै प्रतिस्पर्धी पुरुष रहेका छन् ।
इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको मनोनयन दर्ता भइरहेको हो । यस क्षेत्राट प्रतिनिधि सभा सदस्यमा विजयी भएका सुवास नेम्बाङको मृत्यु भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।