काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठन गर्न माग गरेका छन्।
विराटनगरमा एमाले र माओवादी संसदीय दलले मंगलबार संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुखलाई आह्वान गरेका हुन ।
पत्रकार सम्मेलनमा बोल्दै एमाले सचेतक रेवतीरमण भण्डारीले सरकार गठनका लागि प्रदेश प्रमुखलाई आफूहरुले दबाब दिएको नभई संविधानमा गरिएको व्यवस्था अनुसार नयाँ सरकारका लागि अनुरोध गरेको बताए। उनले भने, हामीले प्रदेश प्रमुखलाई आग्रह गरेको हो दबाब दिएको होइन, कोशी प्रदेशमा एमाले र माओवादीको माग १६८ को उपधारा २ अनुसार सरकार गठनको आह्वान होस्।
१५ दिनभित्र संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै दुइदलले आफूहरूले संसदमा संकल्प प्रस्ताव लैजाने बताएका छन् । सचेतक भण्डारीले भने, प्रदेश प्रमुखले १५ दिनभित्र विशेष अधिवेशन बोलाउनुपर्छ, बोलाउनुहुन्छ। हामी त्योबेला संकल्प प्रस्ताव लैजान्छौं । त्यो संकल्प प्रस्ताव अघि नै मुख्यमन्त्री कार्कीले राजीनामा दिनुहुन्छ भन्ने लाग्छ ।