बालबालिकाका लागि अनावश्यक तनावको एक वर्षः यु.के.जी

डा. दीपु शाक्य । प्रारम्भिक बालविकास विशेषज्ञ

 

“पाँच वर्ष, ६० महिना भन्दा माथिका बालबालिका लक्षित प्रारम्भिक बाल शिक्षा नेपालमा गैरकानुनी हुन् । नेपाल सरकारले चाहेमा जहिलेपनि यसमा कारवाही गर्न सक्छ ।” अधिवक्ता अनिल आचार्यले प्रि-स्कूल/ मन्टेश्वरी/ पूर्व प्राथमिक विद्यालय सञ्चालकहरूको भेलामा यस कुराको उद्घोष गर्नु भएको हो । समय समयमा यस विषयमा विभिन्न अधिकारकर्मीहरूले सवाल उठाउँदै आएका पनि छन् ।

शिक्षा ऐनको सातौँ संशोधन (२०५८) देखि नै चार वर्षका बालबालिकालाई दिइने एक वर्षको शिक्षालाई पूर्व प्राथमिक शिक्षा मानिदै आएको छ भने आठौं संशोधन (२०७३) ले यस पूर्व प्राथमिक शिक्षालाई “प्रारम्भिक बाल शिक्षा” नामाकरण गरी आधारभूत शिक्षा ( प्रारम्भिक बाल शिक्षादेखि कक्षा ८) मा जोडेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन (२०७५) ले प्रारम्भिक बाल शिक्षालाई “प्रारम्भिक बालविकास तथा शिक्षा” को रूपमा परिभाषित गरेको छ। साथै चार वर्ष उमेर पूरा भएका बालबालिकालाई कक्षा एकमा प्रवेश गर्नु अगावै दिइने एक वर्ष अवधिको सर्वाङ्गीण विकासमा केन्द्रित शिक्षा भनेको छ ।

यसै ऐन अनुसार चार वर्ष, ४८-६० महिनाका बालबालिकाका लागि प्रारम्भिक सिकाइ तथा विकास मापदण्ड (२०६९) तथा प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम (२०७७) निर्माण भइ विभिन्न तालिम तथा सन्दर्भ सामग्रीको विकास पनि भएको छ । साथै पाँचदेखि सात वर्षको उमेर समूहका लागि कक्षा १-३ को पाठ्यक्रम पनि सोही अनुसार निर्माण भएको छ । तथापि शैक्षिक गुणस्तर केन्द्रको अनुसन्धान (२०८०) अनुसार कम्तीमा ६३ % निजी र १४% सामुदायिक विद्यालयमा समेत पाँच वर्षका बालबालिका लक्षित गरेर के.जी, यु.के.जी, सिनियर के.जी, प्रि-टु, इसिडी-टु जस्ता विभिन्न नामका कक्षाहरू प्रारम्भिक बाल शिक्षा अन्तरगत सञ्चालनमा छन् । विभिन्न सामुदायिक विद्यालयहरूमा पनि निजी विद्यालयको देखासिकी तथा प्रतिस्पर्धाको रूपमा कक्षा १ मा हुनुपर्ने पाँच वर्षका बालबालिकालाई समेत के.जी/ यु.के.जी जस्ता कक्षा थप गरेर राखिएको पाईन्छ

प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम (२०७७) र सो भन्दा अगाडि रहेको प्रारम्भिक बालविकास दिग्दर्शन (२०६२) ले समेत चार वर्षसम्मका बालबालिकालाई मात्र समेटेको छ। पाँच वर्षका बालबालिकाका लागि यि विभिन्न नामका कक्षाहरू सञ्चालन गर्नका लागि कुनै औपचारिक पाठ्यक्रम भने उपलब्ध नै छैन । यस कारणले विद्यालय सञ्चालकले आफ्नै तरिकाले पाठ्यक्रम निर्माण गरी कक्षा सञ्चालन गर्दै आएका छन् । जुन प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम (२०७७) विपरित र धेरै जसो कक्षा १ को पाठ्यक्रम दोहोर्‍याउने हिसाबका छन् ।

यस विषयमा धेरै अगाडिदेखि अनुसन्धान तथा जनचेतना फैलाउने प्रयास गर्दै आएका प्रारम्भिक बाल शिक्षा शिक्षकहरूको संगठन (ECETA) का बिना शर्मा र लिना श्रेष्ठका अनुसार विगत १० वर्षदेखिको अनुसन्धान र अनुभवका आधारमा पाँच वर्षका बालबालिकाका लागि सञ्चालित कक्षा बालबालिका तथा अभिभावकका लागि तनावदायी छ । यसले माथिल्लो कक्षाको सिकाइ तथा बालबालिकामा समेत नकारात्मक असर गरिरहेको छ । यस्ता कक्षा धेरै जसो ठूला विद्यालयको कक्षा १ प्रवेश परीक्षाको तयारीमा केन्द्रित छन् । हालसालै काठमाडौं उपत्यकामा वहाँहरूले गरेको नमुना सर्वेक्षण अनुसार करिब ७०% शिक्षकले यस उमेर समूहका लागि विद्यालयबाट बनाइएका पाठ्यक्रम बालबालिकालाई धेरै नै बोझिलो र पढाइलेखाइमै केन्द्रित रहेका कारणले बालबालिका र अभिभावकका लागि तनावदायी भएको पाइएको छ ।

विभिन्न अनुसन्धान अनुसार साना उमेरका बालबालिकालाई पढाइलेखाइमा मात्र बढी जोड दिनाले उनीहरूको आत्मविश्वास, उत्प्रेरणा र विद्यालयप्रतिको दृष्टिकोणमा नकारात्मक असर पर्ने देखिन्छ । त्यसैले पनि प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रम (२०७७) र कक्षा १-३ को पाठ्यक्रममा पनि सर्वाङ्गीण विकासमा जोड दिइएको छ । प्रारम्भिक बालविकास तथा शिक्षाको पाठ्यक्रममा पढाइलेखाइ मात्र भन्दा पनि अभिव्यक्ति तथा सञ्चारका लागि भाषाको उपयोग, पोषणयुक्त खाद्यपरिकारको पहिचान र दैनिक रूपमा उपयोग, स्वस्थकर बानी तथा असल सामाजिक व्यवहारको अनुसरण, वैयक्तिक सुरक्षाका उपाय अवलम्बन, दैनिक व्यवहारका कार्य सम्पादनका क्रममा विषयगत सिकाइ र सिर्जनात्मक सोचको प्रयोग र सर्वाङ्गीण विकासका क्रियाकलापमा संलग्नता र तिनमा आधारभूत सीपको प्रयोगलाई हासिल गर्नुपर्ने सक्षमताको रूपमा राखिएको छ ।

कक्षा १-३ को पाठ्यक्रमले पनि पढाइलेखाइमा मात्र भन्दा पनि बालबालिकालाई आधारभूत साक्षरता, गणितीय ज्ञान तथा सीप, र जीवनोपयोगी सीपहरूमा साथै व्यक्तिगत स्वास्थ्य तथा सरसफाइसम्बन्धी बानीको विकास गर्ने अवसर प्रदान गर्न जोड दिएको छ । आधारभूत शिक्षाको माध्यमबाट बालबालिका आफू रहेको प्राकृतिक तथा सामाजिक वातावरणसँग परिचित र सचेत गर्न खोजिएको छ । यी सबै बालबालिकाको सर्वाङ्गीण विकासका तत्त्वहरू हुन् ।

तथापि हाम्रो सामाजिक मूल्यमान्यता र अभिभावक सचेतनाको कमीका कारण, विद्यालय पठाए लगत्तै बालबालिकाले कखग र ABCD पढ्न र लेख्न सक्नुपर्ने धारणा छ । शिक्षकलाई पनि पुरातन विधि अनुसार रटाउन नै सजिलो छ । यी कुराहरू प्रारम्भिक बाल शिक्षा तथा सिकाइका सिद्धान्त र बद्लिदो समाजमा आवश्यक ज्ञान र सीप विपरीत छन् ।

प्रारम्भिक उमेरका बालबालिकाका लागि किताबी ज्ञानभन्दा बाहिरका गैर-शैक्षिक सीप, मनोवृत्ति र दृष्टिकोणहरू सिकाइका आधारहरू हुने गर्दछन् जसले उनीहरूको दीर्घकालीन सिकाइमा ठूलो मद्दत पुग्दछ । यसका साथै कानुनमै व्यवस्था नभएको पाँच वर्षका बालबालिकाका लागि थप एक वर्षे कक्षा सञ्चालनमा आउँदा सानै उमेरदेखि समाजमा एक/दुई वर्षे प्रारम्भिक बाल शिक्षा पाएका सामुदायिक विद्यालयका बालबालिका र निजी विद्यालयमा तीन/चार वर्षे शिक्षा पाएका बालबालिका बीच दुई वर्गको निर्माण भइ असमानता समेत सिर्जना भइरहेको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रको अनुसन्धान (२०८०) अनुसार पनि कक्षा १ मा आँउदा देखि नै सामुदायिक तथा निजी विद्यालयका विकासात्मक उपलब्धिमा समेत विभेद छ ।

शिक्षा साथै जीवनकै जगको रूपमा रहेको प्रारम्भिक बाल शिक्षालाई नै व्यवस्थित नबनाइ शिक्षा प्रणालीको सुदृढीकरणको अपेक्षा राख्न सकिदैन । यसका लागि नीतिनियममा थप प्रष्टता ल्याउनुका साथै सम्बन्धित सरोकारवाला निकायहरू तथा स्थानीय तहहरूबाट यसमा आवश्यक अनुगमन तथा नियमन, शिक्षकहरूलाई सहयोग तथा उत्प्रेरणा, र अभिभावक सचेतनाका कार्यक्रमहरू गर्दै जानुपर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज