काठमाडौँ । गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले थापाले सार्वजनिक सेवाको पदमा रहँदाका बखत गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्तिबाट उनको एकासगोलका परिवारका सदस्यहरूले जोडेको भन्दै सम्पत्ति जफत गर्ने प्रयोजनका लागि रेश्मीकुमारी घिमिरे थापा, भाई राम कुमार थापा र भाई बुहारी द्वारिका राउतलाई समेत प्रतिवादी बनाएको छ ।
थापाले गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरी परेपछि अख्तियारले उनको सम्पत्ति छानबिन गरेको थियो । छानबिनकाक्रममा थापाले २०७४ साल असोज ७ देखि २०७९ माघ २९ सम्म नगरप्रमुखको रुपमा रहँदा सार्वजनिक पदको दुरुपयोग गरी ५ करोड ३३ लाख ५३ हजार सय ८९ रुपैयाँ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको दाबी गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले थापाले नगरप्रमुखका रुपमा प्रवेश गर्नुअघिको एकासगोल परिवारका सदस्यहरुको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको खातामा रहेको बैंक मौज्दात रकम, निजले सार्वजनिक सेवामा प्रवेशपश्वात प्राप्त गरेको पारिश्रमिक बचत आय, निजको श्रीमतीको पारिश्रमिक बचत आय, बैठक भत्ता, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण कर्जा आय, जग्गा बिक्री आय, कम्पनी आय र कृषि आयसमेत गरी जम्मा ७ करोड ८६ लाख ५० हजार २ सय १ रुपैयाँ ४८ पैसा मात्र वैधानिक रहेको आयोगको ठहर छ । तर यो अवधिमा उनले गरेको खर्च, लगानी र बैंक मौज्दात तेह्र करोड बीस लाख तीन हजार तीन सय एकानब्बे रुपैयाँ चौध पैसा देखिएको अख्तियारको आरोप पत्रमा उल्लेख गरिएको छ ।
अख्तियारले उनको आम्दानी र खर्चको हिसाव हेर्दा ५ करोड ३३ लाख ५३ हजार १ सय उनानब्बे रुपैयाँ छैसठ्ठी पैसा बराबरको सम्पत्ति ऋणात्मक देखिएकोले सार्वजनिक पद धारण गरेका बागमती नगरपालिका, सर्लाहीका नगर प्रमुख (मेयर) भरत कुमार थापाले सार्वजनिक पदको दुरुपयोग गरीगैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख गरिएको छ ।