काठमाडौँ । संघीय संसद्को चालु अधिवेशन आइतबारबाट अन्त्य भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्यका लागि पठाएको पत्र वाचन गरेर आइतबार राति १२ बजेदेखि स्वतः अन्त्य हुने गरी प्रतिनिधिसभा बैठक अन्त्य गरिएको हो ।
प्रतिनिधिसभाको तेस्रो अधिवेशन २०८० साल माघ २२ मा प्रारम्भ भई २०८१ साल वैशाख २ गते अन्त्य भएको हो । ७० दिनसम्म चलेको अधिवेशनमा २३ दिनमा २३ पटक बैठक बसी जम्मा ८१ घण्टा ५५ मिनेट ससंदीय काम कारबाही भएका थिए ।
यस अधिवेशनले विमस्टेक बडापत्र अनुमोदन गरेको छ । यो अधिवेशनमा प्रतिनिधि सभामा पाँच वटा विधेयक दर्ता भएका थिए । पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रिय सभाबाट पारित भएर कुल आठ वटा विधेयक प्रतिनिधिसभामा आएका थिए । अधिवेशनले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक गरि जम्मा तीनवटा विधेयक पारित गरेको छ ।