काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पुनरावेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ। सरकारी वकिलको कार्यालयले सन्दीपविरूद्ध अधिकतम सजायको माग गर्दै र आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै सन्दिपले दिएको पुनरावेदन मुद्दामा उच्च अदालत पाटनले आज सुनुवाइ गर्न लागेको हो। उच्च अदालतले निकालेको साप्ताहिक पेशी सुची अनुसार आज यो मुद्दामा सुनुवाइ हुने उल्लेख गरिएको छ ।
चैत २३ गते दुवै पक्षको पुनरावेदन एउटै मुद्दामा राखेर मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासले दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो ।
गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश गरेको थियो। सन्दीपले जिल्ला अदालतको फैसला विरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए। अदालतले उनलाई थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा दिएको थियो। जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो। उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो।