काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कानुन निर्माणको कामलाई अहिले भइरहेको भन्दा छिटो गर्ने गरी अगाडि बढिएको बताएका छन् । अहिले जुन गतिमा कानून निर्माण हुनुपर्ने हो त्यसअनुसार नभएको भन्दै उनले कानून निर्माणको गतिलाई बढाउने बताए ।
संसदीय अभ्यास, प्रक्रियाको जानकारी एवं प्रभावकारी भूमिकाको विषयमा राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले संघीय संसद्बाबाट कानून निर्माणमा ढिलाइ भएको बताए ।
उनले भने ‘संविधान निर्माणसँगै देशमा संघीय शासन प्रणालीको सुरुवात भएको छ । संविधानको कार्यान्वयनका लागि संघीय शासन व्यवस्था अनुसारका थुप्रै ऐन बनाउनु पर्ने काम अझैं बाँकी रहनु ठिक हाेइन्।’
उनले थपे ‘अहिले कानून निर्माणको आवश्यकता र कानुन निर्माणको जुन रफ्तार छ त्यसलाइ बढाउनुपर्ने आवश्यकता छ । कानून निर्माणको जिम्मेवारी लिएका सांसद र संघीय संसद् गम्भीर पनि हुनु जरुरी छ।’
समयमै कानुन निर्माण गर्न नसक्दा अन्योल र निराशाको खतरा बढिरहेको भन्दै अध्यक्ष दाहालले देशलाई आवश्यक ऐन कानून निर्माण गरेर संविधान कार्यान्वयनको कार्यभार पूरा गर्न सबै प्रतिबद्ध र इमान्दार हुनुपर्नेमा जोड दिए ।
सांसदहरूका लागि गरिएको अभिमुखीकरणमा विधेयक निर्माण प्रकृया, विधेयकको संसदीय चरण, संशोधन प्रकृया, प्रत्यायोजित व्यवस्थापन र सांसदहरूको भूमिकाका बारेमा संविधानविद् काशीराज दाहालले सहजीकरण गरेका थिए ।