काठमाडौं । बचतकर्ताको बचत फिर्ता नगरेको भन्दै उजुरी आउनेक्रम बढेपछि सहकारी विभागले थप तीन वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको छ । विभागले आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, नेपाल वित्तीय सहकारी संस्था र गोरखा बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको हो ।
विभागले सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाउने आवश्यक तयारी थालेको बताइएको छ ।
केही समय अगाडि मात्रै विभिन्न ६ वटा सहकारी संस्था मर्ज भएर आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा सञ्चालनमा आएको थियो । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष हुन । करिब २ सय बचतकर्ताले करिब २ अर्ब रुपैयाँ बचत फसेको भन्दै विभागमा निवेदन दिएका छन् । विभागमा उजुरी परेपछि अध्यक्ष उप्रेती सम्पर्क विहीन बनेका छन् । नेकपा एमालेका नेता समेत रहेका उप्रेतीलाई पार्टीले समेत कारबाही गरि निस्कासन गरिसकेको छ ।
अहिलेसम्म सरकारले विभिन्न २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ । जसमध्ये २०७५ असार १८ गते समस्याग्रस्त घोषणा भएका चार्टड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ, स्ट्याण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ, कुबेर बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले मागदाबी गर्ने सम्पूर्ण बचत फिर्ता भएर सम्पत्ति तथा दायित्व फरफारक भइसकेको छ ।
विभागको सिफारिसमा भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरि सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्ने गरको छ। समस्याग्रस्त घोषणा भएका सहकारीहरुको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी काम गर्दै आइरहेको छ ।