सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बैठक बहिष्कार गर्ने

पोखरा । गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताको विषयलाई लिएर नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसला नआएसम्म गण्डकीमा संसद बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताको विषयलाई लिएर गण्डकी प्रदेशसभा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । कांग्रेसले उक्त रिटको फैसला नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

रिटमा सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइ गर्दै दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ। तर प्रदेश प्रमुख डिल्लीराज भट्टले सर्वोच्चको अन्तरिम आदेशलाई बेवास्ता गर्दै अधिकारी नेतृत्वको सरकारलाई विश्वासको मत लिनका लागि शुक्रबार दिउँसो ३ बजे प्रदेशसभा आह्वान गरेपछि कांग्रेस अन्दोलित बनेको हो ।

कांग्रेसले विज्ञप्ति जारी गर्दै मिति २०८१।०१।०७ गते ३ बजे बोलाइएको प्रदेश सभा बैठक र सम्मानित सर्वोच्च अदालतबाट मुद्दाको अन्तिम फैसला नहुँदासम्म आह्वान गरिने प्रदेश सभाको कुनैपनि बैठकमा हामी नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले सहभागी नहुने जनाएको छ ।

कांग्रेसले सभामुख कृष्ण प्रसाद धिताललाई सर्वोच्चको फैसला नआउन्जेल संसद बहिस्कार गर्ने पत्र बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज