काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार सूचना जारी गरेर सांसद गुरुङको निलम्बन फुकुवाको जानकारी दिएका हुन् ।
सर्वोच्चले चैत १६ मा अख्तियारको निर्णय र त्यसका आधारमा गरिएका परिपत्रहरू बदर गर्ने फैसला सुनाउँदै गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको थियो ।
२०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा गुरुङ मनाङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । तर विशेष अदालतमा दायर भएको मुद्दा विचाराधीन रहेकाले अन्तिम किनारा नलाग्दासम्म निलम्बन रहनुपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ पुस ८ गते संघीय संसद् सचिवालयलाई पत्र पठाएको थियो । अख्तियारको उक्त पत्रपछि संसद् सचिवालयले पुस १२ गते गुरुङ निलम्बनमा परेको सूचना प्रकाशित गरेको थियो ।