काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले शुक्रबार सिधाकुरा डट कम बाट सम्प्रेषित समाचारमा आफ्नो नाम जोडिएको भन्दै भर्त्सना गरेका छन् । न्यायाधीश भट्टराईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै तथ्यहीन सामग्रीमा आफ्ना नाम जोडिएकोमा आश्चर्यचकित र स्तब्ध भएको बताएका छन् ।
सिधाकुरा डटकम नामक अनलाइनले चार सय मुद्दा मिलाउनका लागि सर्वोच्चका अदालतका न्यायाधीश भट्टराई नै मिलेको भन्ने ब्यहोराको समाचार सम्प्रेषण गरेको थियो ।
उनले आफ्नो करिब ४३ वर्षको न्यायिक यात्रा खुला पुस्तक जस्तै रहेको भन्दै आफू संलग्न नरहेको मुद्दाको प्रसङ्गमा आफूलाई जोडिएको दावी गरेका छन् ।
यस्तो छ भट्टराईद्वारा जारी विज्ञप्ति
आज सिधा कुरा भन्ने सामाजिक सञ्जालमा प्रसारित समाचारमा मेरो नाम जोडिएकोमा म आश्चर्यचकित र स्तब्ध भएको छु । मेरो करिब ४३ वर्षको न्यायिक यात्रा खुला पुस्तक जस्तै छ । जुन मुद्दाको प्रसङ्गमा मलाई जोडियो सो मुद्दामा म संलग्न थिइनँ भन्ने कुरा उक्त मुद्दामा भएको फैसलाले नै बोलेको छ । त्यतिमात्र नभई जुन समयमा संवैधानिक इजलासबाट सो फैसला भयो सो अवधिमा मलाई संवैधानिक इजलासमा विरलै राखिएको कुरा पनि स्पष्ट गर्दछु । साथै स्टिङ्ग अपरेशनमा संवैधानिक इजलासबाट फैसला भएपश्चात् मसहितको संयुक्त इजलासबाट गरिएका कैयौं फैसलाहरूले सो विषयमा मेरो न्यायिक धारणा व्यक्त गरेका छन् । उल्लिखित विषयमा मैले कसैलाई भेटेको वा कहींकतै उपस्थित रहेको भन्ने कुरा नै तथ्यहीन छ । यस्तो आधारहीन, झुटो र जनतामा भ्रम छर्ने कुत्सित उद्देश्यबाट प्रसारित समाचारको म भर्त्सना गर्दछु ।