इलाम २ मा ५८ प्रतिशत र बझाङ प्रदेशसभा १ मा ५० प्रतिशत मत खस्यो

काठमाडौं । इलाम–२ मा ५८ प्रतिशत र बझाङ–१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ५० प्रतिशत मतदान भएको छ । दुबै ठाउँमा मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । तर दुबै क्षेत्रमा ४ मंसिर २०७९ मा भएको चुनावमा भन्दा कम मतदान भएको छ ।

इलाम २ को उपचिर्वाचनमा १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा करिब ६६ हजार अर्थात ५८ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले अनुसार मतगणना शनिबार नै सुरु गर्ने तयारी छ ।

इलाम २ मा ६ वटा पालिकाका ४२ वडाका १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्नुपर्छ । राति १० बजेसम्म मतपेटिका सबैतिरबाट आइपुग्ने अपेक्षा गरिएको छ । आइपुग्यो भने त्यतिनै बेला सर्वदलीय बैठक बसेर निर्णय हुन्छ, चाडो मतपेटिका ल्याउन सके आजैदेखि मतगणना गर्ने तयारी गरेको निर्वाचन अयोगले जनाएको छ ।

त्यस्तै बझाङ प्रदेशसभा १ मा आज भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ५० प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मतदान भएको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । उनका अनुसार जिल्लामा ६१ हजार सात सय ४८ मतदाता छन् ।

जिल्लाका ७४ वटा मतदानस्थल र ९३ केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको उनले बताए । उनका अनुसार प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिष्पर्धामा छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट जनकबहादुर बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्का, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बाट दिलबहादुर सिंह प्रतिष्पर्धामा छन् । त्यसैगरी नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही, जनमत पार्टीबाट सुशीलादेवी विष्ट, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का, जनता समाजवादी पार्टीबाट रामबहादुर खड्का, नेसनल रिपब्लिकन नेपालबाट कमल घर्तीमगर, राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापा उम्मेदवार रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज