काठमाडौं । सर्वोच्च अदालतले सिधा कुरा डटकमलाई स्टिङ अपरेसनसम्बन्धी प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन र यसका प्रकाशकलाई बयानका लागि बोलाउने आदेश दिएको छ । न्यायाधीशद्वय डा.नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त समाचार र युट्युबमा राखेको भिडियो २४ घण्टाभित्र हटाउन आदेश दिएको हो ।
गत शुक्रबार सिधाकुरा डटकमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रंगेहात घुस सम्बन्धी मुद्दा प्रभावित पार्न प्रधानन्यायाधीश, एक न्यायाधीश र केही मिडिया सञ्चालकहरुले बैठक गरेको भनी दावी सहितको समाचार प्रकाशित गरेको थियो । उक्त समाचार र त्यससँग सम्बन्धित युट्युबमा प्रकाशित अडियो भिडियो सामग्रीले ले न्यायसम्पादनमा अवरोध गरेको भन्दै सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमार्फत घिमिरेले सिधाकुराका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नविन ढुंगानासहित यो काममा संलग्नहरुमाथि कारवाही हुनुपर्ने माग गरेका छन् । उनले प्रकाशित सामग्री सामाजिक सञ्जालबाट हटाउनुपर्ने र त्यसमा संलग्नमाथि बयान गरी कारवाही हुनुपर्ने माग गरेका छन् ।
सर्वाेच्चले वैशाख २० गते बिहान १० बजे आफूसँग भएका प्रमाणहरू लिएर आउन भनेको छ। साथै इजलासले सिधा कुराका सम्पादक र प्रकाशकविरुद्ध परेको रिट फौजदारी दायरीमा दर्ता गर्न भनेको छ। सर्वोच्चले यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम यो निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रशारण, पुनः प्रशारण लगायत सार्वैजनिक गर्ने कुनै कार्य नगर्न नगराउन पनि आदेश दिएको छ ।
यस्तो छ अदालतको आदेश: