विराटनगर । उच्च अदालत विराटनगरले नेकपा एमालेका नेता पर्शुराम बस्नेतलाई कोशी प्रदेश खेलकुद बोर्डका सदस्य सचिवबाट बखास्त गर्ने तत्कालिन मन्त्रिपरिषदको निर्णय बदर गरिदिएको छ । उच्च अदालतका न्यायाधीश ममता खनाल र केशवप्रसाद बास्तोलाको इजलासले सुनुवाइ गर्दै यस्तो फैसला गरेको हो ।
अदालतले सोमबार तत्कालिन मन्त्रिपरिषदको निर्णय बदर गरिदिएसँगै दुई वर्षपछि बस्नेत बोर्डको सदस्य सचिवमा पुनर्बहाली भएका छन् ।
तत्कालिन मुख्यमन्त्री भीम आचार्यले २४ असोज २०७८ मा खेलकुद बोर्डको सदस्य सचिव नियुक्त गरेका बस्नेतलाई त्यसपछि राजेन्द्र राई नेतृत्वको मन्त्रिपरिषदले २१ चैत २०७८ मा पदमुक्त गरेको थियो । पदमुक्त गर्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध बस्नेतले १४ वैशाख २०७९ मा उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।