काठमाडौं । राप्रपाकी संघीय सांसद गीता बस्नेत विरुद्ध सहकारीमा राखेको सर्वसाधारणको बचत हिनामिना गरेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनलाई अनुसन्धानको दायरामा ल्याउन सांसद बस्नेतविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
सहकारी ऐन २०७४ को दफा ५० मा सहकारीले आफ्नो सदस्यको मात्र बचत स्वीकार गर्न र सदस्यलाई मात्र ऋण प्रदान गर्न सक्ने व्यवस्था छ । तर सांसद बस्नेतले आफू सदस्य नै नभएको सहकारीबाट ठूलो परिमाणमा ऋण लिएको पाइएको छ । बस्नेतको समेत लगानी रहेको बर्दियाको गुलरियामा सञ्चालित कृष्णसार रिसोर्टमा पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेको छिपछिपे उपभोक्ता सहकारी, चितवनमा रहेको सनराइज बचत तथा ऋण सहकारी र बर्दियामा रहेको नमस्ते बचत तथा ऋण सहकारीबाट १६ करोड ५८ लाख रुपैयाँ बिनाधितो ऋण प्रवाह भएको पाइएको छ ।
नवलपुर जिल्ला प्रहरीले सहकारीको बचत हिनामिना सम्बन्धमा परेको उजुरीको आधारमा अनुसन्धान गरि जिल्ला सरकारी वकिलको कार्यालयमा पठाएको थियो । सोही आधारमा नवलपुर जिल्ला अदालतले सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । सांसद बस्नेतलाई पक्राउ गर्न आदेश दिएको जानकारी जिल्ला प्रहरी, प्रदेश प्रहरी कार्यालय लुम्बिनी र प्रहरी प्रधान कार्यालयलाई समेत दिइसकिएको छ । ।
अदालतबाट पक्राउ अनुमति पाइसकेपछि पनि प्रहरीले सांसद बस्नेतलाई पक्राउ गरेको छैन । संघीय संसद सचिवालयको अनुमति लिएर पक्राउ गर्नुपर्ने भएकाले यसलाई प्रक्रियामा राखिएको प्रहरीले जनाएको छ । तर उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहकारी प्रकरणमा मुछिएकाले सांसद बस्नेतलाई पक्राउ गर्दा तालुकदार मन्त्रीका हकमा पनि सोही अनुसार गर्नुपर्ने दबाबले प्रहरीले सांसद बस्नेतलाई पक्राउ गर्न नसकेको बताइएको छ ।