काठमाडौं । सर्वोच्च अदालतले बयानका लागि बोलाएका सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेल र नविन ढुंगाना दुवैलाई तारेखमा राखिएको छ । दुवै जनाको बयान सकिए पछि उनीहरुलाई तारेखमा राखिएको हो।
गत साता सिधाकुरा डटकमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रंगेहात घुस सम्बन्धी मुद्दा प्रभावित पार्न प्रधानन्यायाधीश, एक न्यायाधीश र केही मिडिया सञ्चालकहरुले बैठक गरेको भनी दावी सहितको समाचार प्रकाशित गरेको थियो । उक्त समाचार र त्यससँग सम्बन्धित युट्युबमा प्रकाशित अडियो भिडियो सामग्रीले ले न्यायसम्पादनमा अवरोध गरेको भन्दै सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै प्रतिवेदन पेश गरेका थिए ।
सर्वोच्चले अदालतको अवहेलना मुद्धामा वैशाख २० गते बिहान उनीहरुलाई आफूसँग भएका प्रमाणहरू लिएर आउन भनेको थियो । सोहीक्रममा हिजो अनलाइनका प्रकाशक कँडेलसँग बयान लिइएको थियो भने आज सम्पादक ढुंगानासँग बयान लिएको हो ।
अदालतले अडियो उपलब्ध गराउने व्यक्ति भनिएका राजकुमार तिमल्सिनालाइै पनि उपस्थित हुन भनेको थियो । आज उनी पनि सम्पर्कमा आएको बताइएको छ। सर्वोच्च अदालतले तिमल्सिनालाई आइतबार बयानका लागि बोलाएको छ ।