नेपाली कानुन व्यवसायीले पनि युगान्तकारी भूमिका खेलेका छन्

मैले एस एल सी दिएपछि बुबाले मलाई मिलेसम्म चितवनमा हुने कानून सम्बन्धित कार्यक्रमहरूमा लैजान कहिल्यै छुटाउनु भएन ।म कुनामा चुपचाप बसी हेर्थे सुन्थे । सायद त्यही बानीले होला म अहिले पनि समय र सम्भव हुँदा सम्म कानूनका कार्यक्रम, सभा सम्मेलन, छलफल, अन्तरक्रियामा सहभागि हुन छुटाउँदिन । उसबेला कहिले बुबाले कर गरि लानु हुन्थ्यो, कहिले पछि लागेर जान्थेँ, आजकल भने प्राय कार्यक्रम का लागि कहिले वक्ता कहिले सहभागिता को  निम्ता आउने गर्छ र सकेसम्म छुटाउदिनँ । बुबाले सभा सम्मेलन भन्नसाथ अहिले पनि जान जोड र जोरजाम गर्नु हुन्छ । सभा सम्मेलन को सहभागिता ले ज्ञान बढाउँछ, व्यक्तिहरूसँग चिनजान हुन्छ,  आत्मविश्वास बढ्छ, व्यवसायीका निष्ठा र पेशाको महत्व बढाउँछ भन्नु हुन्थ्यो । अहिले बुझ्दा पो थाहा भयो नक्कल सार्ने, अदालत लैजाने काम बाहेक सभा सम्मेलन लैजाने कामहरू पनि मलाई कानून व्यवसायी बनाउने पूर्व तयारी रहेछ बुबाको भनेर ।

सन् २००६ / २००८ सम्म म बेलायतमा दोस्रो एल. एल. एम. अध्ययनरत हुँदा देखि नै अन्तराष्ट्रिय बार एशोसिएसन  (आइ बि ए ) को कार्यक्रममा सकेसम्म जाने गर्थे तर अति महँगो । बेलायत बाट फर्केपछि पनि सभा सम्मेलन मा सहभागी को निरन्तरता बढ्यो नै । सन् २०१६ मा अन्तराष्ट्रिय बार एशोसिएसनको वार्षिक सम्मेलन अमेरिकाको वासिङ्गटनमा हुँदै थियो । महँगो दर्ता शुल्क भएकोले जाने आँट गरिन । पछि बुबाले जानुपर्छ भनेर जोड दिनुभयो । दर्ताको व्यवस्था तिमीहरूले गर आउने जाने बस्ने खर्च म हेरौँला भनेपछि कानून व्यवसायीहरूको आइ. बि. ए. सम्मेलनमा सहभागी भइयो ।

संसार भरिका ५००० कानुन व्यवसायी को उपस्थिति मा चलेको महासम्मेलनको चौथो दिन वाशिङ्टन डी सी अवस्थित विश्व  बैंकको प्रधान कार्यालयमा रात्रि भोज थियो । ६ दिने सम्मेलनको चार दिन सम्मको मेरो बुझाइमा हाम्रो जस्तो मुलुकका कानून व्यवसायीको उल्लेख्य उपस्थिति एकातिर थिएन भने अर्को तिर सम्मेलनका कुनै पनि सत्रहरूमा वक्ताहरू देखिएनन् । मलाई लाग्यो विकसित देशका र ठूला / ठूला ल फर्म का कानून व्यवसायीहरूको मात्र वर्चस्व हुने रहेछ आइ. बि. ए. का सम्मेलनमा । हाम्रो उपस्थिति त केवल नम्बरमा मात्र सीमित थियो, हाम्रो कुरा भन्ने सुन्ने त कहाँ हो कहाँ । मेरो मनले अर्न्तराष्ट्रिय बार एशोसिएसनका तत्कालीन अध्यक्षका स्वकीय सचिव सँग आइ बि ए का अध्यक्षलाई भेट्ने समय मागेँ २ मिनेट । भोजका बेला भेट्न सकिने भने पछि खोज्दै गएँ भेटेँ, नेपाली कानून व्यवसायी हु भन्ने परिचय दिएँ र २ मिनेट कुरा गर्नु छ भनी समय मागे । उनले प्लिज भनेपछि मैले आफ्नो कुरा राखे त्यो पनि एकै श्वासमा र भने, “दक्षिण एसियामा सगरमाथा बोकेको एउटा सानो राष्ट्र छ जसको नाम हो नेपाल । म त्यही नेपालमा कानून व्यवसाय गर्ने कानुनव्यवसायी हुँ । नेपालका कानून व्यवसायीले लोकतन्त्र, मानव अधिकार, स्वतन्त्र न्यायपालिकाको लागि खेलेको भूमिका ऐतिहासिक छ । हामीले शसस्त्र द्वन्द्व गरेको माओवादीलाई प्रजातान्त्रिक धारमा ल्याई नयाँ संविधान ल्याएका छौं ।

कानून व्यवसाय नेपालमा फस्टाउँदो छ भने नेपालको बार एशोसिएसनलाई संविधानले पहिचान गरेको छ । म त्यो युनिक बारको सदस्य हुँ । हामीले संविधान सभाबाट तर्जुमा गरेको संविधानको संसार भरी चर्चा छ भने हामीले शान्तिपूर्ण तवरले गरेको प्रजातान्त्रिक परिवर्तन एउटा प्रशंसनीय अलौकिक परिणाम हो । हाम्रो कुरा सानो होला तर युगान्तकारी छ ।
यदि हाम्रो उपलब्धि र हामी कानुन व्यवसायी  प्रजातन्त्र, कानूनको शासन, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाका कुराहरू प्रति गरेको लगानी यति ठूलो महासम्मेलनमा सुनाउन पाउँदैनौं भने म अर्को वर्ष देखि सम्मेलनमा सहभागी हुन त्यति इच्छुक छैन त्यसै त तपाईँहरू को सहभागी शुल्क अति महँगो छ । सक्नु हुन्छ हाम्रो उपस्थिति को ठाउँ दिनुहोस्, कानुन र न्याय सम्बन्धी हाम्रो कुरा पनि सुन्नुहोस्, सक्नु हुन्न सहभागिता शुल्क हामीले तिर्न सक्ने बनाउनु होस् ।” मैले यती कुरा एक सासमा राखिसके पछि उनले मसँग हाँसेर हात मेरो काँध मा राखे अनि भने मिस्टर घिमिरे मलाई तपाइको भिजिटिङ् कार्ड दिनुहोस् अर्को वर्ष अस्ट्रेलिया को सिड्नीमा मा हुने आइ बि ए सम्मेलन मा भेटौला ।ू
मैले भने हेरूँला ।

अर्को वर्ष सन् २०१७ मा अस्ट्रेलियाको सिड्नी मा हुन लागेको महासम्मेलनमा मेरो जाने इच्छा थिएन । सहभागी र यात्रा  खर्च पनि अति धेरै फेरी भिडमा आफ्नै पहिचान खोज्दै हिंड्नु पर्ने । एक दिन इमेल आयो, लेखिएको रहेछ “मिस्टर घिमिरे, तपाईँलाइ  अस्ट्रेलियामा हुन लागेको अन्तराष्ट्रिय बार एशोसियसनको सम्मेलनमा संविधान सम्बन्धी सेशनमा संविधानका विषय र तपाइको  देशको संवैधानिक विशेषताका बारेमा बोल्न आमन्त्रण छ । साथै तपाइको अस्ट्रेलिया आउने र फर्किने अनि होटेल मा बस्ने खर्च अन्तराष्ट्रिय बार एशोसियसनले व्यहोर्ने छ । हामीलाई विश्वास छ तपाई सग अस्ट्रेलियामा भेट हुनेछ ।

मेरो लागि त्यो इमेलले दिएको खुसीको सिमा रहेन, मेरो लागि गर्वको कुरा थियो । बुबालाई र रोशनीलाई एकै पटक सुनाएँ । आमाले मासु भात पकाउनु भयो । त्यस पछि दक्षिण कोरियामा सन् २०१९ , अमेरिकाको मायामीमा सन् २०२२  र फ्रान्स को पेरिस मा सन् २०२३ मा सम्पन्न आइ बि ए को वार्षिक सम्मेलनमा वक्ताको रुपमा नै उपस्थित भएको छु र घुमाइ फिराइ हामी कानुन व्यवसायी कै बखान गर्छु कानुन र न्यायका सन्दर्भसँग जोडेर । अहिले पनि सहभागी दस्तुरको खर्च बुबाले नै भर्नु हुन्छ, आउने जाने हवाई टिकट रोशनीले दिन्छिन् । घुमघाम, सपिंङ्ग,  उपहार र ड्युटी फ्री मेरो । प्रत्येक दिनको पूजा पाठ र प्रार्थना आमाको अनि माया बाबु नानीको ।

हुन त अहिलेको युवा कानून व्यवसायीहरू हामी भन्दा धेरै गुना बौद्धिक र अवसर लिन सक्ने र जाने छन् तैपनि मेरो उहाँहरूलाई के अनुरोध हो भने मन मा लागेको, आफूलाई चाहिने र व्यवसायीक सहयोगका कुरा आग्रह गर्न हिचकिचाउन हुँदैन । आए अवसर नआए चिनजान । कानून व्यवसायीले सकेसम्म सभा सम्मेलनमा सहभागी हुनु पर्छ । देश विदेशका कानुनकर्मीहरूसँग चिनजान हुन्छ ।  त्यसले आफूलाई आत्मविश्वास दिन्छ ।   परिवर्तित व्यवसायको आयाम बुझिन्छ ।   व्यवसायीक अवसरहरू दिलाउन सक्छ । मित्रताको बिकास हुन्छ । अझ महत्वपूर्ण कुरा व्यवसायीक निष्ठाको बारेमा राम्रो ज्ञान दिन्छ अनि त्यस्ता सम्मेलन मार्फत नेपाली कानुन व्यवसायीको पहिचान समेत हुन्छ ।

(अधिवक्ता सरोज कृष्ण घिमिरेले भारत र बेलायतबाट २ वटा एल एल एम गरेका छन् । त्रि. वि. वि. कानुन संकाय मा उप प्राध्यापक घिमिरे सर्वोच्च अदालत बारका पूर्व कोषाध्यक्ष र हाल ल एसियाको कार्यकारी समितिका सदस्य हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज