काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले संसद्को अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा दल विभाजन हुन नसक्ने जनाएको छ । पार्टीले सोमबार विज्ञप्ति जारी गर्दै कानुनी रुपमा दल विभाजन हुन नसक्ने बताउँदै सबै नेता कार्यकर्तालाई आफ्नो पदीय जिम्मेवारीमा फर्कन अनुरोध गरेको छ ।
जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट फर्किएपछि उनी पक्षका नेताहरूको बैठक बसेको थियो । बैठक लगत्तै पार्टीले विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
विज्ञप्तिमा, जनता समाजवादी पार्टी, नेपाल सम्बन्धमा विभिन्न सञ्चार माध्यममा विभाजन भन्ने समाचार प्रति यस पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा अगाडि भनिएको छ, हाल संसद् अधिवेशन आह्वान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै यस दलको बहुमत केन्द्रीय सदस्य यस दल प्रति नै प्रतिवद्ध रहेको अवस्थामा केही विभाजित मनस्थितिका व्यक्तिहरू निर्वाचन आयोग गई अवैधानिक निवेदनको आधारमा दल विभाजन हुने अवस्था नरहेको हुँदा पार्टीका सम्पूर्ण केन्द्रीय सदस्य लगायत सबैमा कुनै पनि भ्रममा नपरी आ–आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्नु हुन अनुरोध छ ।
अशोक राई नेतृत्वका नेताहरूले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिइसकेका छन् । अहिले उक्त निवेदनको अर्थ नरहने भन्दै जसपाले यसबारे कुनै भ्रममा नपर्ने आग्रह गरेको छ ।