क्यासिनो नियमावली संशोधन हुँदै, सञ्चालनमा थप कडाइको व्यवस्था थपिदैँ

काठमाडौं । सरकारले पर्यटन ऐन २०३४ लाई संशोधन गरेसँगै पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले क्यासिनो नियमावलीलाई संशोधन गर्ने भएको छ । क्यासिनो नियमावली २०७० लाई संशोधन गरेर समय सान्दर्भिक बनाउन लागिएको पर्यटन विभागका प्रवक्ता कालिबहादुर भुजेलले बताए ।

उनले भने ‘क्यासिनो नियमावली एक दशक अगाडि आएको रहेछ यसले परिवर्तित समय र सरकारले पछिल्लो समय संशोधन गरेको कानूनको स्पिरिट अनुसार काम गर्न नसक्ने भएकोले संशोधनको आवश्यकता औल्याइएको छ ।’ विभागले नियमावली संशोधनको प्रारम्भिक खाका तयार पारिसकेको छ । उक्त खाकालाई अन्तिम रुप दिने तयारीसमेत भइरहेको उनले बताए ।

उनका अनुसार संशोधित व्यवस्थाले क्यासिनो सञ्चालनमा थप कडाइ हुने भएको छ । क्यासिनोले बार्षिक रुपमा तिर्ने रोयल्टी बर्षेनी आर्थिक ऐनले व्यवस्था गरेअनुसार हुने भएको छ भने अरु व्यवस्थामा भने नियमावलीले तोके अनुसार हुने छ ।

क्यासिनो सञ्चालन गर्न पाँचतारे होटल हुनुपर्ने, एउटा इजाजतबाट एउटै मात्र क्यासिनो चलाउन पाइने, सीमानाबाट हुने क्यासिनोको दूरी थप लामो हुने, नेपालीको प्रवेश निषेधका व्यवस्था समेटिने भएका छन ।

हालसम्म नेपालमा क्यासिनोमा भइरहेको लगानी, विदेशीलेगर्ने लगानी सहजीकरण, क्यासिनोलाई थप कडा गर्ने, बाँकी राजस्व उठाउने नीति लिने र एक वर्षमा अग्रिम रोयल्टी नतिरे नवीकरण नहुनेसहितका कडा व्यवस्था नियमावलीमा हुने छ ।

कानून अनुसार ३० प्रतिशतभन्दा बढी संशोधन हुने अवस्थामा नयाँ नै जारी गर्नुपर्ने भएकोले क्यासिनो नियमावली संशोधन भनिएपनि आवश्यकता अनुसार नयाँ नै जारी गर्नुपर्ने अवस्था पनि आउनसक्ने भुजेलले बताए ।

उनका अनुसार विभागले हाल होटल मापदण्ड, पर्वतारोहण नियमावली, साहसिक पर्यटन सञ्चालन नियमावलीसहितमा संशोधनको कामसमेत गरिरहेको छ । पर्यटन विभाग अन्तर्गतका अन्यन नियमावली र मापदण्डलाई पनि परिमार्जन गरेर समयसान्दर्भिका साथै व्यवसायमैत्री बनाउन लागिएको समेत भुजेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज