काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायमा सबैको सहज पहुँच पुर्याउन सूचना प्रविधिको प्रयोगलाई अझ बढाइँदै जाने बताउनु भएको छ । कानुन दिवसकै अवसरमा शुभकामना मन्तव्य दिँदै प्रधानन्यायाधीश श्रेष्ठले यस्तो बताउनु भएको हो ।
विज्ञप्तिमा प्रधानन्यायाधीश श्रेष्ठले प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेलाई कानून दिवसको रूपमा मनाइँदै आएको स्मरण गराउँदै विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा शक्ति पृथकीकरणको मूल्य मान्यताप्रति पूर्ण प्रतिबद्ध हुँदै न्यायिक पद्धति र न्यायपालिकाको संस्थागत सुधार मार्फत नागरिकका हक अधिकारको संरक्षण गर्ने सन्दर्भमा कोसेढुङ्गाको रूपमा रहेको उक्त दिनको महत्त्व आजपर्यन्त उत्तिकै रहेको उल्लेख गर्नु भएको छ ।
“न्यायपालिकाको क्रमिक र समयसापेक्ष सुधारको विषय न्यायपालिका मात्रको नभई यसका सबै सरोकारवालाको साझा चासो र सरोकारको विषय हो भन्ने कुरामा म विश्वस्त छु”, उहाँको शुभकामना सन्देशमा भनिएको छ, “न्याय सम्पादनको कार्यलाई प्रभावकारी बनाउनका लागि यसका सरोकारवाला निकायहरू महान्यायाधिवक्ताको कार्यालय एवं नेपाल बार एसोसिएसन लगायतका अन्य निकायहरूको समन्वय र सहकार्य सदैव आवश्यक र अपेक्षित रहन्छ ।” उहाँले सरोकारवाला निकायहरूबाट प्राप्त हुँदै आएको सकारात्मक सहयोग र समन्वयको कारणले सबै तहका अदालतहरूमा विगतका वर्षहरूका तुलनामा यस वर्ष विशेषतः पुराना मुद्दाको फछर्यौट बढी भएको तथ्याङ्कबाट देखिएको पनि सो सन्देशमा उल्लेख गर्नुभएको छ ।
शुभकामना सन्देशमा भनिएको छ, “नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको माध्यमबाट पहुँच योग्य तथा जनआस्थामा आधारित न्यायिक पद्धतिको विकास गरी कानुनको शासनको प्रवर्द्धन गर्न आजको यस विशेष दिनले हामी सबैलाई थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास मैले लिएको छु ।” विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा शक्ति पृथकीकरणको मूल्य मान्यताप्रति पूर्ण प्रतिबद्ध हुँदै न्यायिक पद्धति र न्यायपालिकाको संस्थागत सुधार मार्फत नागरिकका हक अधिकारको संरक्षण गर्ने सन्दर्भमा कोसेढुङ्गाको रूपमा रहेको उक्त दिनको महत्व आज पनि उत्तिकै रहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाई छ ।
नेपालमा प्रधान न्यायालय ऐन, २००८ लागू भएको दिनको सम्झनामा वैशाख २६ गते कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।