विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले विहिबार एक समारोहकाबीच नवनियुक्त मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।
बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले साँझ प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथलगत्तै कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसअनुसार एमालेबाट रामबहादुर रानामगर तथा माओवादीवाट गणेश उप्रेती बिनाविभागीय मन्त्री बनेका छन्।
एमाले–माओवादीले बुधबार नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न प्रदेश प्रमुख खापुङलाई ध्यानाकर्षण गराएका थिए । प्रदेश प्रमुख खापुङले कानुनी परामर्शपश्चात् राति पौने ११ बजे नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।
प्रदेश प्रमुखको आह्वानपछि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदहरुको हस्ताक्षरसहित बिहीबार दिउँसो मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । प्रदेश प्रमुखले ५२ जना सांसदको हस्ताक्षर सनाखत गरेपछि कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।