काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न सङ्घीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताउनुभएको छ । तीनकुनेस्थित एप्पल इन्टरनेशनल स्कुलले आज आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।
विद्यालय शिक्षण सिकाइको मन्दिर भएको भन्दै मन्त्री चौधरीले बालबालिका केन्द्रित शिक्षण सिकाइ अपनाउन आग्रह गर्नुभयो । संविधानले शिक्षा क्षेत्र स्थानीयलाई दिएको भन्दै उहाँले अबको शिक्षण सिकाइ बालबालिकामैत्री हुनुपर्ने बताउनुभयो । “संविधानमा शिक्षालाई स्थानीय तहमा दिइएको छ । केही कुराहरू स्थानीय तहअनुसार फरक–फरक व्यवस्था गर्न पाउने व्यवस्था छ”, उहाँले भन्नुभयो, “राज्यको संरचनाअनुसार तीनै तहमा शिक्षाका केही विषय एकखालको हुनुपर्छ । पाठ्यक्रम पनि जीवनोपयोगी, अहिलेको प्रविधिअनुसार हुनुपर्छ ।
विद्यालय, माध्यमिक विद्यालय स्थानीय तहमै हुने भएकाले केही अधिकार स्थानीय तहमै गएको छ । बालबालिका केन्द्रित शिक्षण सिकाइ हुन आवश्यक छ ।” शिक्षण सिकाइ अहिलेको समयसापेक्ष र बालबालिका केन्द्रित बनाउन विद्यालय, परिवार, राज्य सबैको भूमिका रहने उहाँले बताउनुभयो । “शिक्षण सिकाइ बालबालिका केन्द्रित हुनुपर्छ । पाठ्यक्रम त्यसअनुसार बनाउनुपर्छ । त्यसपछि मात्रै बच्चाले राम्रोसँग सिक्न सक्छ । अब हामीले जीवनोपयोगी शिक्षा पनि समावेश गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “हरेक अभिभावकले शिक्षा र स्वास्थ्य दिन चाहन्छ ।
चाहे जस्तोसुकै आर्थिक अवस्थाको अभिभावक होस् तर उसले आफ्नो बच्चाको शिक्षा र स्वास्थ्य जसरी हुन्छ राम्रै दिन चाहन्छ । त्यसैले हामी सबैले कसरी हुन्छ बालबालिकालाई राम्रो शिक्षा दिन आवश्यक छ ।’ सरकारी विद्यालयको स्तर खस्किएको सन्दर्भमा अहिले धेरै गुनासो आएको भन्दै उहाँले विद्यालयमा राजनीतिकरण भएका कारण समस्या उत्पन्न भएको हुनसक्ने बताउनुभयो । “सरकारी विद्यालयको स्तर खस्किएको छ । शिक्षामन्त्रीले विद्यालयमा राजनीतिकरण भएका कारण समस्या भएको भन्नुभएको छ ।
अलिकति राजनीतिकरण बढी भएर त्यस्तो समस्या भएको पनि हुनसक्छ । सरकारी स्कुलमा केही न केही बेथिति छन् । त्यसलाई हामी सबैले सच्याउनुपर्छ ।” बच्चालाई राम्रो शिक्षा दिलाउनका निम्ति शिक्षक, विद्यालय र परिवार सबैको महत्त्वपूर्ण भूमिका रहने भन्दै उहाँले बच्चालाई सिकाउने पहिलो विद्यालय आफ्नै घर भएकाले घरमा पनि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो, “तपाईँको बच्चा बन्न स्कुल परिवार पनि जिम्मेवार हुन्छ सँगै अभिभावकको पनि उत्तिकै जिम्मेवारी हुन्छ । यी दुवै कुरामा तालमेल नमिलेमा बच्चाको पढाइ राम्रो हुँदैन ।” विदेशमा आफ्नो बालबालिकालाई सुरक्षित राख्नका निम्ति ‘ट्र¥याकिङ सिस्टम’ प्रयोग गर्ने गरेको भन्दै उहाँले बालबालिकाहरूलाई त्यसरी सुरक्षित राख्न सकेमा धेरै राम्रो हुने बताउनुभयो ।
विभिन्न पक्षबाट अन्यायमा परेका, हिंसामा परेका, विभिन्न अपराधजन्य कार्यमा संलग्न भएर तथा परिबन्धमा परेका बालबालिकाको न्याय निरूपणका निम्ति छुट्टै बाल अदालतको आवश्यकता रहेको मन्त्री चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले बच्चा पनि विभिन्न माध्यमबाट प्रताडित छन् । ती सबै बालबालिकाको संरक्षण गर्दै अगाडि बढ्नुपर्ने छ । हाम्रो मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय बालअधिकार परिषद्ले यस क्षेत्रमा काम गर्दै आएको छ ।” भोलिका दिनमा देश बनाउने अहिलेका बालबालिका भएको भन्दै मन्त्री चौधरीले अहिले संसद्मा शिक्षासँग सम्बन्धित विभिन्न विधेयकमा छलफल भइरहेको बताउनुभयो । विद्यालयका प्रिन्सिपल यमनाथ मैनालीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । त्यस अवसरमा शिक्षा क्षेत्रमा योगदान दिने विभिन्न व्यक्ति तथा शिक्षकलाई सम्मान गरिएको थियो ।