काठमाडौं । पत्रकार पदमप्रसाद पोखरेलले आफूमाथि कुटपिट र लुटपाट भएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन ), नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र महानगर प्रहरीका एसपी मनोज लामिछानेविरुद्ध मुद्दा दायर गरेका छन् ।
काठमाडौं महानगरपालिकाले सुन्धारामा १६ फागुनमा फुटपाथ व्यवसायीमाथि गरेको धरपकडका क्रममा आफूमाथि कुटपिट भएको र क्यामेरालगायत सञ्चार उपकरण फुटाइदिएको भन्दै प्राणमञ्च डटकमका प्रधान सम्पादक पोखरेलले बिहीबार काठमाडौं जिल्ला अदालतमा कुटपिट र लुटपाटको मुद्दा दायर गरेका हुन् ।
पत्रकार पोखरेलले कुटपिटबापत मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना र लुटपाटतर्फ दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरेका छन् ।