काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ । अशोक राईसहित ७ सांसदले खारेज भइसकेको ऐनलाई टेकेर पार्टी फुटाएको भन्दै आफ्नो दल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै जसपा नेपालका अध्यक्ष यादवले आइतबार सर्वाेच्चमा रिट दायर गरेका थिए ।
आफ्नो दल छाडेका सांसदले प्रतिनिधिसभा सदस्यको पद गुमाइसकेको दाबी गर्दै अध्यक्ष यादवले रिटमा आफ्नो दल छाडेका ७ जना सांसदलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा मतदानमा र अरु संसदीय गतिविधिमा पनि रोक लगाउन माग गरेका छन् । यादवले उनीहरुको मतबाट प्रधानमन्त्रीले विश्वासको मत पाए पनि बदर हुने जिकिर गरेका छन् ।
यादवले आफ्नो दल छाडेर गएका सांसद र नेताहरुले दर्ता गरेको नयाँ दल जनता समाजवादी पार्टी दर्ता नगर्न आदेश माग गर्दै यसअगाडी नै सर्वोच्चमा रिट दिएका थिए । सो रिटमा सुनुवाइ गर्दै सर्वोच्चले पार्टी दर्ता प्रक्रिया यथास्थितिमा राख्न निर्वाचन आयोगलाई आदेश गरेको थियो ।