काठमाडौँ । महिला र बालबालिका बेचबिखनविरुद्ध अदालतमा दर्ता भएका मुद्दामा छिटो फैसला हुनुपर्ने आग्रह गरिएको छ । शक्ति समूहले आज आयोजना गरेको मानव बेचबिखन न्यूनीकरणमा सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा वक्ताले पीडितलाई न्यायका लागि छिटो फैसला हुनुपर्ने आग्रह गरिएको हो ।
सो समूहका कार्यकारी निर्देशक बालकुमारी दर्लामीले २०६४ सालमा दर्ता भएका मानव बेचबिखनविरुद्धको मुद्दा २०७२ सालमा फैसला भएको उदाहरणसमेत रहेकोे बताउनुभयो । सो सवालमा अहिलेसम्म एक सय वटा मुद्दा दर्ता भएकोमा १४ वटाको मात्र फैसला भएको देखिएको उहाँले जनाउनुभयो ।
अभियन्ता चरिमाया तामाङले मानव बेचबिखनविरुद्धको कार्यमा राज्य, समुदाय र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । पत्रकार मात्रिका पौडेलले मानव बेचबिखनविरुद्धको अभियानमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको सचेतना र खबरदारीको भूमिका निर्वाह गर्ने बताउनुभयो ।