काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसको अवरोधपछि शुक्रबारको प्रतिनिधि सभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गरेका हुन् ।
शुक्रबार नीति तथा कार्यक्रममाथि छलफल र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूचीसमेत थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ जेठ १ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको उल्लिखित आ.व. २०८१र०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूचीसमेत थियो ।
सभामुख घिमिरेले सरकारको नीति तथा कार्यक्रम पारित गर्नुपर्ने भएकाले पनि सदन चलाउन सहयोग गर्न प्रतिपक्षी दललाई अनुरोध गरेका थिए । तर कार्यसूचीमा प्रवेश नगर्दै कांग्रेस सांसदहरूले उठेर विरोध गरेका थिए।
कांग्रेसले भने सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म सदनमा अवरोध जारी रहने बताउँदै आएको छ । सभामुख घिमिरेले अर्को बैठक आइतबार बिहान ११ बजेका लागि बोलाएका छन् ।