काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा भ्रष्टाचार भएको प्रकरणमा दोषी ठहरिएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल बिहीबार झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार इन्जिनियर पोखरेलको घरमा सुसाइड नोटसमेत फेला परेको छ । साइड नोटमा आफ्नो मृत्युको जिम्मेवारी आफैं भएको भन्दै कसैको दोष नरहेको लेखिएको प्रहरीले जनाएको छ । बिहीबारै उनको शवको केएमसी मेडिकल कलेज दुवाकोटमा पोष्टमार्टम भइसकेको छ ।
विशेष अदालतले ११ जेठमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित पोखरेल, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेसका निर्देशक भुवन महर्जनलाई दोषी ठहर गरेको थियो । उनीहरुलाई दोषी ठहर गर्दै जेल र जरिवाना सजाय सुनाएको थियो ।