ईटहरीमा सामुदायिक विद्यालय सुधारकाे अभियान, यस्ता छन् ३० बुँदे साझा संकल्प

काठमाडौं । शैक्षिक गुणस्तर सुधारका लागि २७ बुंदे सङ्कल्प घोषणा गरेर अघि बढेको इटहरी उपमहानगरपालिकाले मंगलबार र बुधबार दुई दिने विद्यालय सुधार सम्बन्धी नेतृत्व विकास कार्यशाला आयोजना गरेको छ । कार्यशाला सामुदायिक विद्यालयका व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका अध्यक्षका लागि विद्यालय सुधार सम्बन्धी नेतृत्व विकास कार्यशाला आयोजना गरेको हाे ।
कार्यशालामा सहभागी अध्यक्षहरुले उपमहानगरपालिकाले लिएको सङ्कल्पलाई साथ दिंदै ३० बुंदे साझा सङ्कल्प पत्रमा हस्ताक्षर हस्ताक्षरसमेत गरेका छन् ।I सामुदायिक विद्यालयको सुधार तथा रुपान्तरणका लागि समुदायको सहयोग र सहभागितालाई बढाउन सबैकाे हातेमालाेको सङ्कल्प देखिएकाे छ ।
ईटहरी उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालय सुधारका लागि विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका अध्यक्षहरुको साझा संकल्प पत्र
१. हामी हाम्रा छोराछोरी आफैंसँग भएको अवस्थामा सामुदायिक विद्यालयमा नै भर्ना गर्ने छौं ।
२. संविधानको भावना तथा प्रावधान अनुरुप मातृभाषाको संरक्षण तथा प्रवर्धन गर्दै, राष्ट्रिय माध्यम भाषा नेपालीमा पारङ्गत बनाउँदै अन्य विषयमा अंग्रेजी माध्यमबाट पठन पाठन गर्ने व्यवस्थापन गर्नेछौँ ।
३. लाइब्रेरी, विषयगत प्रयोगशाला, कम्प्युटर ल्याब लगायत अन्य प्राविधिक शिक्षा तथा नव प्रवर्तनका कक्षा संचालनका लागि उचित प्रबन्ध तथा व्यवस्थापन गर्ने छौं ।
४. कक्षा ९ देखि माथि पढ्दै कमाउँदै जस्ता व्यवहारिक सिकाइका कार्यक्रम संचालन गर्नेछौं ।
५. पूर्ण बालमैत्री वातावरणमा आधारित शिक्षण सिकाइलाई अवलम्बन गर्नेछौं ।
६. विद्यालयमा अतिरिक्त क्रियाकलाप तथा विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुग्ने कार्यक्रम संचालन गर्नेछौँ ।
७. नैतिक शिक्षा, संस्कृति तथा मौलिकताको जगेर्ना गर्ने कार्यक्रमलाई विद्यालयमा प्राथमिकताका साथ संचालन गर्ने छौं ।
८. कमजोर सिकाइ उपलब्धी भएका विद्यार्थीका लागि पठनसीप कार्यक्रम लगायत विशेष उपचारात्मक कक्षाको संचालन गर्ने छौं ।
९. शिक्षकको पेशागत विकास तथा उत्प्रेरणाका लागि विभिन्न कार्यशाला तथा तालिमको आयोजना गर्दै शिक्षालाई सीप, संस्कार तथा प्रविधिसँग जोड्दै विद्यालयलाई उत्कृष्ट शैक्षिक गन्तव्यका रुपमा सुधार तथा विकास गर्नेछौं ।
१०. अभिभावक तथा समुदायलाई विद्यालयमा जोड्न अभिभावकसँग घरदैलो तथा अभिभावक शिक्षा कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गर्नेछौं ।
११. हामी विद्यालय संचालनका लागि प्राप्त साधन र स्रोतको परिचालन गर्नेछौँ, विद्यालयमा नभएका स्रोत तथा साधन जुटाउन प्रयत्न गर्नेछौँ ।
१२. विद्यालयको चल, अचल सम्पतिको लगत राख्ने, राख्न लगाउने र सुरक्षा गर्नेछौँ ।
१३. विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक तथ्यांक र विवरण अध्यावधिक गराई राख्नेछौँ ।
१४. व्यक्तिगत वा गुटगत स्वार्थभन्दा बाहिर गएर विद्यालयको सर्वहीतमा काम गर्नेछौँ ।
१५. विद्यालयमा स्वच्छ वातावरण कायम राख्नेछौँ, दलगत राजनीति प्रवेश गर्न दिने छैनौँ तथा धार्मिक वा साम्प्रादायिक आधारमा विद्यालयमा विभेद हुन दिने छैनौँ ।
१६. स्थानीय सरकारबाट खटिएको शिक्षकलाई कुनै प्रकारको दु:ख नदिई हाजिर गराई काममा लगाउने छौँ, उत्साहजनक कार्यसम्पादन तथा शिक्षण सिकाइको वातावरण निर्माण गर्नेछौँ ।
१७. उपमहानगरपालिका शिक्षा समिति तथा शिक्षा महाशाखाले दिएको निर्देशनको पालना गर्नेछौँ ।
१८. आफैंले नियुक्त वा बढुवा गरेका शिक्षकको लागि तोकिए बमोजिमको पारिश्रमिक तथा सुविधाको व्यवस्था गर्नेछौँ ।
१९. विद्यार्थीको नियमित उपस्थिति बढाउन अभिभावकसँग समन्वय गर्ने छौँ, अभिभावक शिक्षा कार्यक्रम, अभिभावक सचेतना कार्यक्रम, अभिभावकसँग छलफल कार्यक्रम संचालन गर्नेछौं ।
२०. अभिभावकको पहलमा सामुदायिक विद्यालय सवलीकरणका लागि “हामी सुधार गर्छौं, हाम्रो विद्यालय” अभियानको नेतृत्व गर्नेछौँ ।
२१. विद्यालयलाई समुदायसँग जोड्ने अन्य कार्यक्रममा प्रधानाध्यापकलाई सहयोग गर्नेछौँ ।
२२. विद्यार्थी, शिक्षक तथा अभिभावकलाई विद्यालयको विकास तथा पठनपाठन सम्बन्धमा उत्प्रेरित गर्न आवश्यक व्यवस्था मिलाउनेछौं।
२३. विद्यालयमा शिक्षाको गुणस्तर कायम गर्नको लागि आवश्यक काम गर्नेछौँ।
२४. विद्यालयको शैक्षिक गतिविधि बारे नियमित जानकारी राख्ने तथा सो सम्बन्धमा अन्तरक्रिया गर्नेछौँ ।
२५. विद्यालयको समग्र गुणस्तर सुधारका लागि विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सरकारसँग आपसी समन्वय स्थापित गर्न (साँघु) पुलको रुपमा काम गर्नेछौं ।
२६. विद्यालय नक्शांकनका आधारमा ईटहरी उपमहानगरपालिकाले तर्जुमा गरेका BIG School सम्बन्धी योजना  आवश्यकताका आधारमा विद्यालय गाभ्ने/थप्ने/मिलान गर्ने सुधारात्मक कार्यको समर्थन तथा सहयोग गर्नेछौँ ।
२७. विद्यालयको वार्षिक लक्ष निर्माण गरी सोहीअनुरुप कार्ययोजना निर्माण गरेर कार्यान्वयन गर्नेछौँ ।
२८. खुला प्रतिष्पर्धाबाट हुने प्रधानाध्यापक नियुक्ति प्रक्रिया तथा दरबन्दी मिलान प्रक्रियालाई अनावश्यक हस्तक्षेप नगरी विद्यालयको समग्र गुणस्तरको सुनिश्चितताको लागि रचनात्मक सहयोग गर्नेछौँ ।
२९. मौजुदा शिक्षा ऐन (तीन तहका) ले निर्दिष्ट गरेका वा तोकेका अन्य अधिकार तथा कर्तव्यको पालना गर्नेछौँ ।
३०. इटहरी उपमहानगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि प्रस्तुत गरेको संकल्प पत्रलाई कार्यान्वयन गर्न सहयोग गर्दै इटहरीलाई सार्वजनिक शिक्षा सुधारको देशको नमूना नगरका रुपमा स्थापित गर्न उत्साहजनक सहभागिताका साथ प्रतिवद्ध रहनेछौँ  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा न्यूज