नागरिकता प्रकरणमा धनुषा जिल्ला अदालतको पक्राउ पुर्जीका आधारमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया पक्राउ परेका थिए । उक्त घटनाको विरोध गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष र महासचिवले विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्ति संविधानको मर्म, नेपाल बार एशोसिएसनको विधान, स्थापित मूल्य मान्यता, सिद्धान्त र स्वतन्त्र न्यायपालिकाको मर्मविपरीत निकालिएको भन्दै केही कानुन व्यवसायीहरूले विरोध गरिरहेका छन् । यही सेरोफेरोमा हामीले विरोधमा उत्रिएका कानुन व्यवसायी मध्येका एक अधिवक्ता दिपकराज जोशीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सम्पादित अंशः
- तपाईँहरूको नेपाल बारमा भइरहेको आन्दोलन किन के का लागि हो खुलाउन मिल्छ?
नेपाल बारले मिति २०८१।०२।०९ मा कुनै मिडिया मालिकको फौजदारी कसूरमा अदालतले पक्राउ पुर्जी जारी गरेको विषयमा विज्ञप्ति निकालेको थियो । उक्त विज्ञप्ति फिर्ता लिनको लागि आन्दोलन गरिएको हो । यो आन्दोलन हामी सबै कानून व्यवसायीहरूको हकहितको लागि गरिएको हो । नेपाल बार अध्यक्ष तथा महासचिवको मात्र निर्णयबाट गरिएको रहेछ भन्ने हामीलाई लागेपछि सामाजिक सञ्जालमा यसको विरोध भयो । हामीले ज्ञापनपत्र लिएर अध्यक्षलाई भेट्न जाँदा हामीलाई कुनै भ्यालु दिइएन । सवाल जवाफ भयो । नेपाल पत्रकार महासङ्घले भनेपछि निकालिएको सम्म भन्न भ्याए । मलाई रास्वपाको समेत भन्न भ्याउनु भयो । तर हाम्रो ज्ञापन पत्र लिन मान्नु भएन । पछि भेटौला भनिएको थियो । हामी पनि भेट्न दोश्रो पल्ट पनि गयौ । उहाँले चिया खान भन्नु भयो । कुराकानी गर्न गएको हाम्रो विज्ञप्ति ठिक छ । तपाईँहरूको पत्र हामिले बुझ्न मिल्दैन । हाम्रो कार्यसमितिले सच्याउन सक्छ भन्नेसम्मको कुरा भएको हो । हाम्रो ज्ञापन पत्र नबुझ्ने भएपछि हामीले हाम्रा माग राखेर ब्यानर सहित नेपाल बारमा गएको हाम्रो ब्यानर महासचिवको ठाडो आदेशमा हटाउने कार्य भयो । इतिहासमा नेपाल बारको नेतृत्व यति कमजोर र हतास मानसिकताबाट गुज्रिएको पहिलो पल्ट पाएपछि हामी हाम्रो अस्तित्व खोज्न नेपाल बारमा आन्दोलन गर्न हिँडेको हो ।
- नेपाल बारले के विज्ञप्ति निकाल्न हुँदैन थियो र ?
नेपाल बारले विज्ञप्ति निकाल्न हुन्छ । कस्तो अवस्थामा भने जस्तो पेशागत हकहित जोडिएको विषयमा संविधान विपरित वा नेपाल कानून विपरित कुनै गलत काम सरकारबाट हुन गएमा निकाल्ने हो वा कानून व्यवसायी वा अदालतमा भइरहेका गलत कामको विरोध गर्ने हो । नेपाल बार त वास्तवमा वकिलको हकहितको लागि स्थापित बार हो । तर मिडिया मालिकको पक्षपोषण हुने गरि निकालिएको विज्ञप्तिको हामीले खुलेर विरोध गरेका हौं । हामीले यो गर्नु पर्ने पनि थियो । किनभने यसले हामी समग्र कानून व्यवसायीहरूको शिर निहुराउने काम नेपाल बारको नेतृत्वले गरेको छ ।
- भनेपछि तपाईंलाई बारको राजनीति गर्न मन लागेको छ भन्दा के फरक पर्छ ?
मलाई राजनीति गर्नु पर्ने भए मैले उहिले नै कुनै एलहरुको फेर समातेर कुनै बारको टिकट लिएर अहिले राजनीतिमा हुन्थे । मलाई राजनीति गर्नु नै छैन् । मेरो पेशा वकालत हो । म वकालत नै गर्छु । म यो समाजको सचेत नागरिक पनि हुँ । वकिलको छाता संगठनको अगुवाले बाटो बिरायो भने यसलाई खबरदारी गर्नु हाम्रो कर्तव्य ठानेका कारण हामी साथीहरू भएर यो काम गरेका हौं । राजनीतिक दलको सदस्य हुन आपराधिक गतिविधि भएको योग्यता चाहिने मुलुकमा हामी जस्तालाई जसले पनि पद दिइहाल्छन् नि । तर, आफ्नो सचेतनाले यसो गर नभनुन्जेल गरिदैन । राजनीति गर्ने हामी कसैको मन होइन ।
- तपाईंहरूको आन्दोलनको पछाडि को को छन् ? यसमा आर्थिक श्रोत कसरी जुटाइ रहनु भएको छ ? भन्न मिल्छ ?
किन नमिल्नु । हाम्रो आन्दोलनको पछाडि गुलामी स्वीकार नगर्ने धेरै अग्रज तथा युवा कानून व्यवसायीहरू हुनुहुन्छ । कतिपयलाई यसको मतलब छैन् । हामीले निकालेको विज्ञप्ति पनि धेरैले पढेर चित्त बुझाउनु भएको छ । हामी हाम्रो हिसाबले हतार नगरीकन आन्दोलनमा छौं । धेरै जनाको राय प्रतिक्रिया सकारात्मक रहेको पाएको छु । अहिले आर्थिक श्रोतको आवश्यकता परेको छैन् । सानोतिनो खर्च हामी आफ्नै खल्तिबाट गरिरहेका छौं ।
- तपाईंलाई के लाग्छ ? नेपाल बारको नेतृत्वले विज्ञप्ति फिर्ता लिन्छ ?
नेपाल बारको कार्यसमितिका ७ जना पदाधिकारीहरू आफैले विज्ञप्ति निकालेर नेतृत्वको विरोध गरिसक्नु भएको छ । थुप्रै युनिट बारले पनि विज्ञप्ति निकालेका छन् । जतिले विज्ञप्ति निकालेका छन् सबैले विरोध नै गरेका छन् । नेपाल बार भित्र पनि निर्णय भएर विज्ञप्ति निकालेको पाइएन । निकाल्नुको कारण भनेको आफ्नो व्यावसायिक स्वार्थको कारणले निकालेको भनेर महासचिवज्युले मलाई प्रत्यक्ष कुराकानी हुँदा भनिसक्नु भएको छ । नेपाल बारको र मिडिया मालिकको व्यावसायिक के स्वार्थ हुन्छ ? वहाँहरूको स्वार्थ भनेको वकिल क्लाइन्टको स्वार्थ हो । यस्तो स्वार्थको पूर्ति नेपाल बारमा बसेको बेला किमार्थ गर्न पाइन्न । यो पनि वकिलको मतको दुरुपयोग हो ।
“प्रत्यक्ष राजनीतिक दलसँग आस्थावान व्यक्ति बारको नेतृत्वमा आउनु हुन्न । आयो भने दलको स्वार्थ अनुसार डम्फु बजाउने रहेछन् ।”
- नेपाल बार भित्रको बेथितिको विषयमा पनि तपाईंहरूले एजेन्डा बनाउनु भएको छ ?
नेपाल बारमा के कसरी काम हुन्छ हालसम्म हामीलाई यसको जानकारी छैन् । तरपनि निर्णय गर्दा वकिलको संस्थामा समेत बलमिच्याँइ हुने रहेछ भन्ने कुरा त न्यायपरिषद्को सदस्य फिर्ता बोलाउने निर्णयबाट नै देखिन्छ । नियम कानूनले न्यायपरिषद्को सदस्य फिर्ता बोलाउन मिल्ने नमिल्ने समेतको लेखाजोखा नगरी कुनै अमुक व्यक्तिको ठाडो आदेश वा निर्देशन जस्तो गरि बारले निर्णय गर्यो । केही पदाधिकारीहरूले त्यतिखेर पनि विरोध गरेका थिए । यसबाट के देखिन्छ भन्दा प्रत्यक्ष राजनीतिक दलसँग आस्थावान व्यक्ति बारको नेतृत्वमा आउनु हुन्न । आयो भने दलको स्वार्थ अनुसार डम्फु बजाउने रहेछन् । हुन त नेपाल बारका अध्यक्षले म राजनीतिक जुत्ता फुकालेर बारमा आएको हुँ भन्नु हुन्छ तर उहाँको कार्य हेर्दा वा व्यवहार हेर्दा विशुद्ध राजनीतिक दलको कार्यकर्ता जस्तो निर्णय गर्नु हुन्छ । अरु पदाधिकारीको त कुनै मूल्य नै छैन जस्तो देखिन्छ । बारको नेतृत्वमा निर्वाचित वकिलले एक वाक्यसमेत नेतृत्व विपरित बोल्न सक्दैन भने बार भित्रै लोकतन्त्र छैन भन्ने देखिएन र ? तपाइ आफै विचार गर्नुस् न एउटा मिडियाको मालिकलाई व्यावसायीक स्वार्थको हिसाबले अदालतको अवहेलना हुने गरि विज्ञप्ति निकाल्न कुन चै पेशामा स्थापित वकिललाई शोभा दिन्छ ? अहिले न्यायपालिका पुन संरचनाको मुख्य विषय नेपाल बारले बनाएको छ । तर म त भन्छु न्यायपालिका भन्दा पहिला नेबाएको पुनसंरचना हुनु पर्छ । बार भित्रका बेथितिहरू बाहिर ल्याउनु पर्छ । दलगत मान्छे निर्वाचित भएर जाने पछिसम्मको आश गर्ने गरेका कारण पनि बेथितिहरू बाहिर आउन पाउँदैनन् । त्यसैले हामीलाई थाहा हुँदैन । अहिलेको मुख्य एजेन्डा त्यो होइन ।
- नेतृत्वलाई के सुझाव दिन चाहनु हुन्छ ?
हामीले शुरुमा ज्ञापन पत्र दियौं, लिएनन्, लत्याए । नेपाल बारको सदस्यलाई नेपाल बार भित्रै प्रवेश गर्न नदिने । माग सुन्नै नहुने । लगेको ज्ञापन पत्र पढ्न समेत नहुने भएपछि यो भन्दा ठूलो तानाशाही यस्तो लोकतान्त्रीक व्यवस्थामा कतै पाइन्छ ? नेपाल बारको पदले उन्मत्त हुने मान्छे अगाडि अडिग हुन सक्ने देखिदैन । वहाँहरू हाम्रो आवाज बन्द गर्न खोज्दैछन् । तर आवाज दबाएर दबिदैन । हामी सामन्तको कुरा गर्छौ । नेपाल बार सामन्त रहेछ भन्ने महसुस भएको छ । हाम्रो माग सम्बोधन गर्नुस । गल्ति भयो भनेर प्रायश्चित गर्नुस् । नेपाल बारमा बाँकी रहेको कार्यकाल राम्रो काम गरेर जानुस् । तर निषेधको राजनीति नगर्नुस् भन्न चाहन्छु ।
- तपाईंहरूका भावी कार्यक्रमहरू कस्ता छन् ? खुलाइदिन मिल्छ ?
हामीहरूका अबका कार्यक्रमहरू हस्ताक्षर संकलन गर्ने, धर्ना दिने, रिले अनशन बस्ने, दबाबमूलक कार्यक्रमहरूमा माइकिङ सहितको कार्यक्रमहरू रहेका छन् । त्यसपछि पनि उनीहरूले नमानेमा आमरण अनशन समेत भएरपनि गर्नु पर्ने हुन्छ । यसलाई यतिकै छोड्नु हुन्न भन्ने हो ।