धनुषा, । मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकमा प्रस्तुत भएको छ ।
संविधानको धारा १८४ को उपधारा २ बमोजिम सरकारका तर्फबाट मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुद, भौतिक पूर्वाधार, वन वातावरण, सुशासनलाई उच्च प्राथमिकतामा दिइएको छ । नीति तथा कार्यक्रममा मधेसका एक सय ३६ पालिकालाई लक्षित गरी नमूना कृषि विकास समूह सहकारी वा कृषि साझेदारीमा एक पालिका एक कृषि उत्कृष्टता केन्द्र तयार गर्ने उल्लेख छ ।
मधेसका प्रत्येक जिल्लामा नमूनाको रुपमा एक÷एक वटा खुला शैक्षिक उद्यान तयार गर्ने, मधेस प्रदेशको तथ्याङ्कलाई भरपर्दो र विश्वासिलो बनाउन आफ्नै डिजिटल तथ्याङ्क बैंक स्थापना गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको छ ।
पत्रकारिता क्षेत्रको विकास तथा पत्रकारहरूको क्षमता अभिवृद्धि तथा वैदेशिक लगानी भित्र्याउने हेतुले मधेस लगानी सम्मेलन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशमा सुशासन कायम गर्दै विकास खर्च बढाउने विषयमा जोड दिइएको छ ।