काठमाडौँ । सर्वोच्च अदालतले दिँदै आएको वरिष्ठ अधिवक्ताको उपाधि दिन करिब १५० कानुन व्यवसायी सिफारिश भएका छन् । सर्वोच्चले दिने यस्तो उपाधिसम्बन्धी सूची सिफरिस समितिले फुलकोर्टमा पेश गरेको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउतराउत नेतृत्वको समितिले करिब डेढ सय कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न सिफारिस गरेको छ ।
वरिष्ठता, पेसामा सक्रिय निरन्तरता, आचार संहिता उल्लंघन तथा फौजदारी कसुरमा पनि सजाय नपाएकोलगायतका मापदण्डका आधारमा सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्छ ।
वरिष्ठ अधिवक्ताको उपाधि दिनका लागि न्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा ५ सदस्यीय समिति गठन भएको थियो । उक्त समितिले विभिन्न आधार र मापदण्ड हेरी वरिष्ठ अधिवक्ताको उपाधि दिन सकिने सम्भावित कानुन व्यवसायीको सूची तयार गरेको थियो ।
उक्त समितिका सदस्य सचिवका हैसियतले मुख्य रजिस्ट्रार ढकालले प्रतिवेदन प्रस्तुत गरेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए ।
सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (फुलकोर्ट) मा प्रस्तावित वरिष्ठ अधिवक्ताहरूको सूची पेस भएकोले अब छलफल सुरु हुने छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा मुख्य रजिस्ट्रार देवेन्द्र ढकालले सिफारिस समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।