काठमाडौं । वाणिज्य कानून समाजले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा आफ्ना सुझाव पेश गरेको छ । समाजका अध्यक्ष डा. अवतार न्यौपाने लगायतका पदाधिकारीहरूले आफ्ना सुझाव पेश गरेका हुन ।
समाजले प्रतिनिधि सभामा पेश भई हाल अर्थ समितिमा छलफलका लागि विचाराधीन रहेको बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक सन्दर्भमा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको सचिवालय र राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई आफ्ना सुझावहरू पेश गरेको हो ।
सुझाव पेश गर्दै अध्यक्ष न्यौपानलेले वाणिज्य कानून समाज नेपालले अर्थ वाणिज्य उद्योगसँग सम्बन्धित कानूनहरूको समायानुकुल विकासका सम्बन्धमा सहयोग गदै औद्योगिक एवम् वाणिज्य क्षेत्रको विकासमा सहयोग पुर्याउँदै आइरहेको बताए । उनले भने समाजले छलफल तथा अन्तरक्रियाको माध्यमबाट ऐन, कानूनमा समयसापेक्ष सुधारको लागि राय सुझाव पेश गर्दै आइरहेको छ ।