काठमाडौं । चिकित्सा शिक्षा आयोगले बीएण्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिने निर्णय गरेको छ । मंगलबार आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको आयोगको १४ औं बैठकले बीएण्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिने निर्णय गरेको हो ।
सर्वोच्च अदालतले गत जेठ १४ गते १५ दिनभित्र बीएण्डसी अस्पताललाई मेडिकल कलेज सञ्चालनको सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगका नाममा आदेश दिएको थियो । अदालतको आदेशपछि काठमाडौं विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले चिकित्सा शिक्षा आयोगलाई सम्बन्धन दिन सिफारिससहितको पत्र पठाएको थियो ।
आयोगको बैठकमा प्रधानमन्त्री दाहालले बीएण्डसीलाई सम्बन्धन दिनुपर्ने प्रस्ताव राखेका थिए । आयोगका अध्यक्ष समेत रहेको प्रधानमन्त्री दाहालले राखेको उक्त प्रस्तावलाई सदस्यहरुले सहमति जनाएका थिए ।