कुरो सन २०१७ को लन्डन को हो । लन्डनको टेलर हाउसमा एउटा मुद्दाको लागि यात्रा तय गरेको थिए । लन्डन छोडेको करिब ९ वर्ष पछि गर्न लागेको यात्रामा पुराना साथीहरूसँगको मित्रतालाई पुनरावृति गर्नु त छँदै थियो । यसपालि मेरो दुइटा उद्देश्यहरू थिए, जुन पुरा भयो । अक्सफोर्ड जानु अनि मिडल टेम्पल इन घुम्नु, अनि खाना खानु । मुद्दाको बारे कुनै शनिबार लेखुम्ला…
आई ह्याभ विन टू अक्सफोर्ड ।
अक्सफोर्ड विश्व विद्यालय जानु प्रत्येक व्यक्तिको सपना हो। म त्यो सपनाको एउटा पात्रको यथार्थ सन् २०१७ मा पूरा हुन आयो जब अक्सफोर्डमा अवस्थित मेरा एकजना पक्षका लागि लन्डनको टेलर हाउसमा पक्षको लन्डनका कानुन व्यवसायीसँगै प्रतिरक्षाका लागि उपस्थित हुनु पर्यो।
बेलायत मै अध्ययन गर्दा पुग्न नसकेको अक्सफोर्ड विश्व विद्यालय यसपालिको यात्रामा कुनै पनि हालतमा पुग्नु थियो थियो । पुगेरै छोडियो । संयोग नी कस्तो रह्यो भन्दा म पनि अक्सफोर्ड विश्वविद्यालय पुग्नु बेलायतबाट प्रकाशित हुने पत्रिका नेपालीपत्रले मेरो अन्तर्वार्ता पहिलो पृष्ठमा छाप्नु । आफ्नो अन्तर्वार्ता आफैले त्यो पनि अक्सफोर्ड विश्व विद्यालयमा पढ्नु । तपाईं नै सोच्नुहोस् मलाई कति धेरै खुसीले आनन्दित बनायो होला ?
दिनभर अक्सफोर्ड विश्वविद्यालयका चप्पा च्याप्प घुमियो केही बाकी राखिएन क्यान्टिन, लाइब्रेरी, कानुन संकाय, अडिटोरियम हल, नजिकका क्याम्पसहरू, चौर, बगैंचा, दिल अक्सफोर्ड अक्सफोर्ड हुने गरी । मेरो लागि एउटा अंग्रेजको घरमा पेइङ गेस्टको व्यवस्था थियो ३ रातका लागि । अन्तिम रात घर धनी अंग्रेजले रात्रि भोजका लागि आमन्त्रित गरे । भेटेको दुई दिनमै प्रभावित भएका अङ्ग्रेजको आमन्त्रणलाई नाई भन्ने कुरै भएन । लगे अक्सफोर्डको शानदार पबमा। सामाजिक, सांस्कृतिक कुरासँगै हाम्रो आ-आफ्नै बालपन र हुर्काईका कुराहरू भए दुवै लाई नौलो लाग्ने। हामी दुईको बालपन हुर्काइको भिन्नता आफै मा युनिक र रोमाञ्चित थियो । लमजुङको एउटा दूर दराजमा जन्मेको म जीवनमा पहिलो पटक मोटर गाडी देख्दा म १० वर्षको उमेरको थिए भन्दा त्यो अङ्ग्रेजले एकछिन पत्याउन सकेन। जब पत्यायो म माथि आदर बढायो । कुरा कानीको क्रममा मैले मेरो अक्सफोर्ड युनिभर्सिटीमा पढ्न आउने बेजोड उत्कण्ठा र चाहनाको बारेमा बताए । अक्सफोर्डमा पढ्ने इच्छा पूरा गर्न नसके पनि अक्सफोर्ड युनिभर्सिटी घुम्न पाएकोमा खुसी बताए । मेरो कुरा सुनिसकेपछि, बुझिसकेपछि उसले एकछिन मलाई हेर्यो अनि मेरो भावना लाई प्रष्टसँग बुझेर भन्यो, सरोज आजबाट तिमीले भन्न सक्छौ कि म अक्सफोर्ड गएको छु (आई हाव विन टू अक्स्फोर्ड I have been to Oxford ) । उसको कुरा सुनेपछि म प्रस्ट भए किन थाहा छ ? किन कि आई हेव विन टू अक्सफोर्ड ।
मिडल टेम्पल इन र अमेरिकी सम्बन्ध । हामी कहाँ कम छौं र !
अक्सफोर्ड पुगिसकेपछिको मेरो दोस्रो गन्तव्य लन्डन थियो लन्डन अवस्थित टेलर हाउसमा लन्डनका वकिलसँगै विदेशी कानुन व्यवसायीको हैसियतमा पक्षको मुद्दाको विषयमा मैले आफ्नो कुरा राख्नु थियो । (यसको बारेमा अर्को कुनै हप्ता लेखुम्ला) । लन्डन पुगिसकेपछि मैले भेट्ने योजनामा राखेको अर्को व्यक्तित्व भनेको प्रा. सूर्य सुवेदी हुनुहुन्थ्यो । प्रा. सुवेदीसँग मेरो पारिवारिक सम्बन्ध रहे पनि म उहाँलाई कानून का प्राध्यापक र अन्तराष्ट्रिय कानूनका विशेषज्ञ अनि हामी नेपालीले गर्व गर्ने बौद्धिक व्यक्तित्वका बारेमा बढी चिन्छु । हुन त मैले सूर्य दाजुलाई दोस्रो पटक भेट्दा भरतपुर अस्पतालमा भेटेको हु भाउजूसँगै तर फरक परिवेशमा । सायद त्रिशुलीमा भएको कार दुर्घटनाबाट गम्भीर घाइते भै मृत्युको मुखबाट निस्किनु भएको उहाँ र भाउजूको घाइते अवस्था मेरो बालपनको मस्तिष्कमा अझै ताजै छ । त्यो घटनाले पनि मलाई उहाँसँग नजिक रहेको महसुस गराउँछ । मैले उहाँको लन्डन अवस्थित हाई बार्नेटमा रहेको घरमा दुई पटकको दशैँको भोज समेत खाएको छु । सूर्य दाजु र बुबाको घनिष्टता पनि नजिकबाट देखेको छु।
मैले प्रा. सुवेदीलाई अघिल्लो दिन फोन मा कुराकानी गर्दा उहाँले मलाई सोध्नु भयो सरोज बाबु ल भन के छ तिम्रो इच्छा लन्डनमा ? भोलि कहाँ जाने ? मलाई उहिले देखि लागिरहेको तर लण्डन २ वर्ष जति बस्दा पनि अवसर नपाएको ठाउँ भेट्नुथ्यो, त्यो थियो इन् ( Inn), लन्डन मा रहेको ब्यारेस्टरहरुका ४ वटा इन् Greys Inn, Inner Temple, Lincoln Inn र Middle Temple Inn। त्यो इन् जहाँ ब्यारिस्टरहरू र लर्ड्सहरु (न्यायमूर्तिहरू) सँगै बसेर खाना खान्छन् अनि कानुन र न्यायका कुरा गर्छन, एक अर्कामा मित्रता राख्छन्, विश्वास र सम्मान गर्छन । न्याय र कानूनलाई अटल र अविचलित राख्न छलफल गर्छन अनि एक अर्का सग बसेर गफ गर्न खान धक मान्दैनन् । स्वतन्त्र न्यायपालिका कायम गर्न अविचलित हुन्छन् ।
यी सब मैले सुनेका कुरा थियो । मैले सुनेको थिए बेलायतका ब्यरिस्टरका लागि कुनै एउटा इन् मा जोडिनु आवश्यक रहेछ सदस्य भै । मैले मनको कुरा प्रा. सुवेदीलाई अप्ठेरो नमानी भने दाजु मलाई इन भित्र जानु छ, इनको बारेमा बुझुनु छ अनि खाना खानु छ । मैले यो भन्दै गर्दा उहाँ ब्यारेस्टर भन्ने थाहा थियो किनकि मैले पहिले नै बुझेको कुरो के थियो भने इन् को सदस्य हुन ब्यरिस्टर हुन् पर्छ । दाजुले हाँसी हाँसी ल हुन्छ म भोलिका लागि रिर्जव गर्छु भन्नु भयो । मेरो अनुरोध सुन्नासाथ हुन्छ भन्नु भयो । करिब ४५० व्यारिष्टर र ६०० कानुनका विद्यार्थी रहेको मिडल टेम्पल इनमा जाने अवसर जुरी हाल्यो ।
सन् १५०१ मा राजा हेनरी सातौँले स्थापना गरेका मिडल टेम्पल इन खास गरि कानुनका विद्यार्थीलाई शिक्षित र प्रशिक्षित गर्न स्थापना गरिएको रहेछ । अनि बिस्तारै यस भित्र सामाजिक कार्यक्रम, साहित्यिक, कानून र न्यायका अनि सांगीतिक कार्यक्रम र ब्यारिस्टर र लर्ड्स (न्यायमूर्ति) का लागि निश्चित समयमा भेटघाट गर्ने, मित्रता बढाउने अनि खानाखाने स्थानको रुपमा बन्दो रहेछ । लन्च समयमा यहाँका सदस्यहरू ब्यारिस्टर, न्यायमूर्तिहरु आइ खान खाने, गफ गर्ने र कानून र न्यायका विषयमा भएका विकासको साझेदारी गर्ने ऐतिहासिक हल समेत रहेको यो इनको सदस्य हुनु आफैं प्रतिष्ठाको विषय रहेछ भन्ने बुझे ।
मनमा खुसीहरू लिदै इन वारी परिका ऐतिहासिक भवनहरूका बारेमा बुझ्दै, नेपाल को राजनीति र कानुनी विकासका बारेमा छलफल गर्दै मिडल टेम्पल इन भित्र छिरियो । विशाल र कानुन अनि न्यायको गाथा बोकेको, इन भित्र पहिले नै बूकिंग गरिसकेको टेबलमा पुगिसकेपछि सब तिर एकोहोरो हेरिरहे अनि समय समय मेरो बार एसोसिएसन र न्यायपालिका सम्झी रहे । छलफलका क्रममा सूर्य दाजुले यो इनको महत्व र गाथाका बारेमा केही कुरा सुनाउनु भयो जुन यहाँ पस्किन मन लाग्यो ।
मिडल टेम्पल इन बेलायतको कानुन, न्यायको विकासमा मात्र होइन अमेरिकी संविधान र यसको संवैधानिक विकासको गहिरो सम्बन्धका बारेमा समेत धेरै अमेरिकन वकिललाई थाहा नभएको कुरा मिडल टेम्पल इन घुमिसकेपछि मैले भेटेका धेरै अमेरिकन कानून व्यवसायीलाई सोधे, उनीहरूलाई थाहै रहेनछ । मैले बुझ्दासम्म अघिल्लो केही वर्ष सम्म अमेरिकाका ३ जना प्रधान न्यायाधीश यो इनको सदस्य समेत भएका रहेछन् । यो इनको महत्वको महत्वपूर्ण कारण भनेको यो इनका सदस्यहरू र यहाँबाट प्रशिक्षण पाएका कानून व्यवसायीहरूले अमेरिकी संघीय संविधान र धेरै जसो राज्यका संविधानको समेत मस्यौदा गरेका रहेछन् । झन् गज्जबको कुरो त अमेरिका को स्वतन्त्रता को घोषणापत्र समेत यही इन् का ५ जना सदस्य ले हस्ताक्षर गरेका रहेछन् र यहाँको ७ जना सदस्यले अमेरिकी संविधान जारी गर्ने दस्ताबेजमा हस्ताक्षर गरेका रहेछन् । यहाँका ४ जना सदस्यले अमेरिकी ब्चतष्अभिक या Articles of Confederation मा हस्ताक्षर गरेका रहेछन् ।
छलफलको क्रममा के थाहा भयो भने यो इनबाट धेरै अमेरिकन वकिलहरू दीक्षित भएका छन् । जस मध्ये बेन्जामिन फ्रेंलिनका छोरा विलियम पनि यसै इनबाट दीक्षित भएका र अमेरिकाबाट बेलायत अध्ययन गर्न आउनेहरू ४ वटा इनमध्ये ६०५ भन्दा बढी यही इनमा सदस्य हुने रहेछन् । अमेरिकी युद्धताका कोलोनिएल जोहन लौरेंस जो यो इनका सदस्य थिए । उनी अमेरिकी राष्ट्रपति जर्ज वासिङ्टनका सहयोगी पात्र रहेको बुझे ।
अमेरिकाको फिलाडेल्फियामा अमेरिकी संवैधानिक सम्मेलन १७८७ हुँदै रहेछ जसमा ५५ जना प्रतिनिधिहरू १२ राज्यबाट रहेछन र उनीहरुमध्ये आधा सदस्यले त मिडल टेम्पल इनबाटै कानूनी प्रशिक्षण लिएका रहेछन । यो संवैधानिक सम्मेलनले जोन Rutledge को अध्यक्षमा ५ सदस्य समिति बनाइ संविधान मस्यौदा गर्न दिएको र अमेरिकी संविधानको पहिलो मस्यौदा १० दिनमा कडा मेहनतका साथ तयार गरि बुझाएको अपत्यारिलो घटना यही इनका सदस्यहरूले घटाएका रहेछन । अमेरिकी संविधानको अन्तिम खाका ३९ जनाले हस्ताक्षर गरेकोमा ७ जना त यही इनका सदस्य रहेको कुरा मेरोलागि अचम्म र उत्प्रेरणाको कुरा थियो । उनीहरु उसबेला मैले अहिले बसेकै कुर्चीमा बसेका रहेछन् । त्यसैले नि यो इनको सदस्य हुनु आफैमा कम गर्विलो कुरो होइन रहेछ र म एउटा सानो देशको सामान्य कानून व्यवसायीलाई यो मौका कम ठुलो थिएन अनि कम प्रभावित पार्ने यसको गाथा थिएन ।
Blackstone Ratio..
बरु १० अपराधी छुटुन् १ निरपराधीले जेल सजाय भोग्नु नपरोस् भन्ने सिद्धान्तका व्याख्याकार Blackstone यही इनका सदस्य रहेछन् । अंग्रेजी कानूनको टिप्पणी लेखेका Blackstone अमेरिकी सर्वोच्चको अदालतले गरेको पहिलो ऐतिहासिक संवैधानिक फैसलाको मुद्दा मार्बुरी बि म्याडिसन १८०३ मा प्रधानन्यायधिस मार्सलले उनको बारेमा वृहत रुपमा उल्लेख गरेको कुरा त एल एल एम मा संवैधानिक कानुन पढ्दा सुनेको कुरा अहिले पुनर्ताजगी भयो । Blackstone को त्यो पुस्तक उसबेला अमेरिकामा सब भन्दा बढी बिक्रि भएको पुस्तक रहेछ त्यो पनि सन् १७७२ मा ।
अर्को मज्जाको कुरो त अमेरिकी प्रधानन्यायाधीश बेलायत आउँदा एकपटक यहाँ न आइ फर्क्कीन्नन रे अनि यहाँ हनररी सपथ लिएर यो ले अमेरिकाको संविधान र कानुन निर्माणमा खेलेको भूमिका र यहीबाट अमेरिकी स्वतन्त्रताको दस्ताबेज लेखिएको कुराको सम्मान गरेर फर्किन्छन भन्ने सुन्दा म कम अचम्भित भइन किनकि म त्यो इनमा यो दिन बिताउदै थिए, भेटघाट गर्दै थिए, अनि प्रा. सूर्य सुवेदीसँग खाना खाँदै थिए ।
अनि फेरी मैले मेरो देश, मेरो न्यायपालिका अनि नेपाल बार सम्झें, अनि लाग्यो, के नेपाल बारले नेपालको न्याय, मानव अधिकार, संविधान र कानून मा यसले अनि यसका सदस्यले खेलेको भूमिकालाई जम्मा गर्न सकेको छ ? अनि हाम्रा अग्रजले खेलेको गाथाका पानाहरू संकलन गर्न सकेको छ ? दस्तावेज बनाउन सकेको छ ? अनि तिनलाई हाम्रो नयाँ पुस्ताहरूलाई सुनाउन सकेको छ ? अनि हाम्रो मर्यादा कायम गर्न सकेको छ ? के हाम्रा न्यायमूर्तिहरू हाम्रो बारमा आउँदा हो यो बारले नै न्यायपालिकाको स्वतन्त्रताका लागि लडेको एकमात्र संस्था हो भन्ने कुराको मनन गरेका हुन्छन ? के हाम्रा युवा कानुन व्यवसायीलाई यो बारको सदस्य हुँ भन्दा गौरवान्वित महसुस हुन्छ ? हुन्छ भने ठीक छ, हुन्न भने अब केही गर्नु छ हामीले, अनि देखाउनु छ संसार लाई…