काठमाडौं । जिल्ला अदालत, सर्लाहीले तपश्वी रामबहादुर बम्जनलाई बाल यौन दुराचारको कसूरमा दोषी ठहर गरेको छ । जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई दोषी ठहर गरेको हो ।
सर्लाही अदालतले २७ पुस २०८० मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतका स्रेस्तेदार सदन अधिकारीका अनुसार तपश्वी बम्जनलाई असार १७ गते सजाय निर्धारण गर्ने छ । बम्जनसँगै तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङलाई पनि अदालतले दोषी ठहर गरेको छ । उनीहरुलाई मतियारको रुपमा सजाय मागदाबी गर्दै अदालतमा अभियोग पत्र पेश भएको थियो ।
प्रहरीमा उजुरी परेपछि बम्जन फरार थिए । प्रहरीले उनलाई २०७६ सालदेखि नै खोजी गरिरहेको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २०८० पुस २४ गते बम्जनलाई काठमाडौंबाट पक्राउ गरेको थियो ।
उनीमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ । उनीहरु सबैलाई सिन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान छ । सर्लाहीस्थित आश्रममा समेत बाल यौन दुराचार भएको जाहेरी परेको थियो ।